काठमाडौं/भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) शिखर सम्मेलन हुँदैछ । जसमा नेपाल सहितका सदस्य राष्ट्रहरु भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, म्यानमार र भुटानका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागी रहने छ । विमस्टेक शिखर सम्मेलनको तयारी पूरा भएको छ र सम्मेलनमा सहभागी हुने विशिष्ट र अतिविशिष्ट पाहुनाहरु नेपाल आइपुग्न थालिसकेका छन् ।
काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म र अतिविशष्ट पाहुना ओहोरदोहोर गर्ने सडकका खाल्डा पुर्ने र सिंगार्ने काम सकिएको जनाएको छ । विमष्टेक शिखर सम्मेलनमा आउने पाहुनालाई देखाउन सडकका खाल्डा पुरिएको छ । सडकपेटीमा भएका बोट विरुवालाई गोडमेल गरेर आकर्षक देखाइएको छ । सडक भित्ताहरुमा रंगरोगन गरिएको छ ।
यो कामको लागि सडक डिभिजन कार्यालय काठमाडौंले करिब ४ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । यस्तै चारवटै सुरक्षा निकायले मात्रै सम्मेलन सुरक्षाका लागि ७५ करोड रुपैयाँभन्दा बढी खर्च गरेर सुरक्षा ब्यवस्था मिलाएका छन् । विदेशी पाहुनाका लागि १ सय १२ मोटरसाइकल स्कर्टिङका लागि तैनाथ गरिएको गृहमन्त्रालयको भनाइ रहेको छ ।
विमस्टेक शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र प्रमुख र सरकार प्रमुख, भिभिआइपीहरुको लागि आवश्यक पर्ने उपयुक्त सवारी साधन भाडामा लिन अर्थमन्त्रालयले गृहमन्त्रालयको नाममा गत साउनमै २ करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको छ ।
सम्मेलन व्यवस्थापनकै लागि सुरक्षा निकाय तथा विभिन्न मन्त्रालय र निकायले सवारी साधन खरिद र भाडामा लिन, आवास तथा बन्दोबस्ती, रंगरोगन, सडक मर्मत, पाहुना सत्कार लगायतमा साढे २ अर्ब रुपैयाँ खर्च गर्दैछन् भने सम्मेलन सुरक्षाको लागि नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकायका करिब २५ हजार जनशक्ति परिचालन गरिनेछ । यसका लागि नेपाल प्रहरीका करिब १० हजार, सशस्त्रका ५ हजार र बाँकी सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटिने छन् ।
दैनिक २ सय ५० रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलव्ध गराइने छ । सम्मेलनकै लागि प्रहरीले भीभीआइपी स्कर्टिङका लागि २० वटा जीप, ७४ वटा ६५० सीसीका साइरन जडित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको छ । जुन प्रतिमोटरसाइकलको मूल्य २० लाख रुपैयाँभन्दा बढी रहेको छ ।