काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन भदौ १३ गतेदेखि सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू गरेको छ ।
यो प्रणाली अनुसार सवारी साधन चलिरहँदा यही मौका छोपि ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । सार्वजनिक यातायातमा सकेजति भाडा असुली भइरहेको छ, ट्याक्सी मिटरमा हिँड्न मान्दैनन्, मन लागे जति माग्छन्, बिरामी परेर अस्पताल जानेलाई पनि सवारीसाधन पाउन मुस्किल रहेको यात्रुहरुको गुनासो रहेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई राज्यले दिएको सहुलियतको नियम भए तापनि सार्वजनिक यातायातले यो नियमको पालना गरेको छैन ।
तर यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकाल नियमित अनुगमन भइरहेको र बढी भाडा असुल्नेलाई कारवाही हुने कुरा बताएका छन् । बढी भाडा लिने सवारीसाधन चालकलाई रु. ५ हजारसम्मको जरिवाना सहित कारवाही गरिने ढकालले बताए ।