काठमाडौं । सरकारले विमस्टेकमा भाग लिने प्रमुखहरुले यात्रा गर्ने सडकका खाल्डाखुल्डी मर्मत गर्न लगाइएका अधिकांश सडक विमस्टेक सम्मेलन सुरु हुनु भन्दा अगाडि नै भत्किन थालेको छ ।
वर्षातको कारण र हतारहतारमा काम गर्दा अधिकांश सडकमा खाल्डाखुल्डी पर्न थालेको हो । सडकका खाल्डाखुल्डी टाल्ने जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय ललितपुरले यही भदौ ४÷५ गते सडकका खाल्डाखुल्डी टाल्न सुरु गरेका थिए ।
स्थानीयहरुले यस्तो पानीमा सडक कालेपत्रे नगर्नुस् भन्दा पनि अटेर गरेर कालोपत्रे गरी डिभिजनका कर्मचारीहरुले कालोपत्रे गरेका थिए । जसका कारण एक साता नबित्दै कालोपत्रे गरिएको सडक खाल्डाखुल्डीमा परिणत भएको छ ।
पानीमाथि हालिएको अलकत्रा र गुणस्तरहीन कालोपत्रे गरिएका कारणका साथै नियम नियमन गर्ने सडक डिभिजन कार्यालय आफैले विमस्टेकको हतारो देखाउँदै गरिएका सडक मर्मत निर्माण तथा अलकत्रा पोख्ने कामहरु बर्षादको भेल सँगै बगेर हप्तादिनमै करोडौंको खर्च खेर गएको छ ।
निर्माणसम्बन्धी काम गर्ने जिम्मेवारी लिएको ठेकदार तथा उक्त ठेकदारको तर्फबाट काम गर्ने व्यक्तिले निर्धारित मापदण्ड वा निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य गरेको पुष्टि भएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने भर्खरै लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५० को उपदफा २ ले उल्लेख गरिएको छ । तर मुलुकी अपराध संहिता ऐनमा उल्लेख भएपनि यो विषयमा लागू भने गरिएको पाइँदैन ।