आज कृष्ण जन्माष्टमी । साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको मानिने श्रीकृष्णको जन्मदिनको रुपमा आजको दिनलाई मानिन्छ । यो हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । आजको दिन हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने गर्दछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन रहेको छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थको रुपमा मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यसै उपलक्ष्यमा नेपालका विभिन्न नगरका विभिन्न धार्मिक संघसंस्थाहरूद्वारा बाजागाजा, झाँकीसहित श्रीकृष्णको शोभायात्रा निकालिने गर्दछ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
देवकी तथा वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा कृष्णको जन्म जन्माष्टमी १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र १८ फेबु्रअरी ३१०२ इसापूर्वसम्म धर्तीलोकमा रहेका थिए ।
देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफु राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो । आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।
जन्म भएसँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए । जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमायाको रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी वहाँ मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरेका थिए ।
काभ्रेमा पुजिए दश हजार भन्दा बढी कन्याहरु
बनेपा । प्रत्येक वर्ष झैं यस वर्ष पनि कृष्ण जन्माष्टमीको दिन काभ्रेमा कन्या पुजिएका छन् । एक सय चौध बर्षअघिदेखि सुरु भएको कन्या पुजामा यस बर्ष पनि काभ्रेमा करिब १० हजार भन्दा बढी कन्या पुजिएका छन् ।
काभ्रेको बनेपा, नाला, सा“गा, भैसेपाटी, उग्रतारा जनागाल, बुडोल, पनौती, दाप्चा लगायत अन्य नेवार समुदायको बसोबास रहेका स्थानमा कन्याहरुलाई पुजिन्छ ।
रजस्वला नभएका बालिकाहरुलाई कन्याको रुपमा पुजा गर्ने गरिन्छ । यसरी कन्याहरुलाई पुजा गर्दा कन्याहरु निरोगी हुने, सुख सम्पत्ति पाई खुशी हुने र कन्याहरुलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको छ । कन्या पूजा सबै जात, धर्म र समुदायका कन्या पुजिएको सुरकृष्ण बैद्यले जानकारी दिएका छन् ।
वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पुजा नेपालकै एक मात्र कन्याहरु पुज्ने पर्व हो । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास समेत छ । कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ ।
सनातन कन्या पुजा प्रवन्ध समिति तथा व्यतिmगत गरि देशभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दिइने गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्ला बाहेक सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरु आउने गर्छन् ।