काठमाडौं । कार्तिक २ र ३ गते खुवाउने भनिएको राष्ट्रिव्यापी कार्यक्रम प्रदेश सरकारले भिटामीन ए खरिद गर्न नसक्दा अन्यौलमा परेको छ ।
संघीय संरचना अनुसार सरकारले प्रदेशलाई भिटामीन ए खुवाउने कार्यक्रमहरु हस्तान्तरण गरे तापनि प्रदेश सरकारले भिटामीन ए खरिद गर्न सकेको छैन । कार्यक्रम संचालन हुने समय नजिकिँदा औषधिको अभाव भएको कारण समस्यामा परेको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख केदार पराजुलीले बताए । भिटामिन ए किन्न नसकेकै कारण सरकार कार्यक्रम बन्द गर्ने तयारीमा रहेको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन् । उनले पोषणको अवस्था राम्रो देखिएको र औषधि समेत नभएको अवस्थामा निरन्तरता दिने वा बन्द गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताईन् । युनिसेफसँग आपतकालीन सहयोग अपिल सरकारले भिटामीन ए कार्यक्रमनै बन्द हुने भएपछि युनिसेफ गुहारेको छ । केन्द्रीय सरकारले समेत भिटामिन ए खरिद गर्न नसकेपछि युनिसेफलाई गुहारेका छन् । युनिसेफले अन्तिम पटक भन्दै आपत्कालीन सहयोग गर्ने बचन दिएको छ ।
