काठमाडौं । अहिले अमेरिकी विनिमय दर उच्च हुने क्रममा १ डलर बराबर नेपालीले १ सय १५ रुपैयाँ ४८ पैसा खर्च गर्नुपरेको अवस्था छ । डलर बलियो बन्दै गएसँगै नेपाली मुद्रा कमजोर हुँदै गएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको सटही दरमा हुने घटबढले नै नेपाली मुद्राको विनिमय दर घटबढ हुने गर्छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारले डलर महँगिँदै गएको हो । कुनै पनि देशको मुद्रा कमजोर वा बलियो हुनुमा त्यस देशको अर्थतन्त्रको अवस्थाले काम गरिरहेको हुन्छ । अर्थतन्त्रलाई कहिलेकाहीँ राजनीतिक दाउपेचले पनि कमजोर वा बलियो हुने गर्दछ । अमेरिकी मुद्रा बलियो हुनुको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतिविधि रहेको मानिएको छ ।
डलरबाट अमेरिकालाई धेरै रणनीतिक लाभ हुने र डलरले शक्ति प्राप्त गर्ने मुख्य आधार समय–समयमा अमेरिकाले लगाउने प्रतिबन्धको व्यवस्थाबाट रहेको भारतीय लेखक तथा पूर्वबैंकर सत्यजित दासको भनाई रहेको छ । व्यापार घाटा घटाउन करका दर बढाउने अमेरिकी नीतिले अन्य देशको अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकाले पनि डलरको भाउ बढेको विश्लेषकहरु बताउँछन् ।
डलर विनिमय दर बढ्दा यसको असर नेपाललाई पनि परेको छ । नेपालले आयात गर्ने अधिकांश वस्तु डलरमा भुक्तानी हुने भएकाले बजार भाउ महँगिन सक्नेछ । नेपाल भित्रने रेमिट्यान्समा भने डलरको भाउमा भएको वृद्धिले सघाउन सक्नेछ । डलरको भाउ महँगो हुँदा बढी विनिमय दर पाउने भएकाले रेमिट्यान्स पठाउन आप्रवासी आकर्षित हुनेछन् भने विदेशबाट आएको रेमिट्यान्स रकम नेपाली मुद्रामा बढी देखिन्छ ।