काठमाडौं । २०७२ सालको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त पाटनको भीमसेन मन्दिर पुनर्निर्माणको कार्य अब स्थानीयले नै गर्ने भएका छन् ।
पुनर्निर्माणको कार्य सरकारले भारत सरकारलाई दिए पनि भारतीय दूतावासले वर्षौंसम्म बेवास्ता गरेपछि स्थानीय आफैं जुटेका हुन् । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीयवासी र ललितपुर महानगरपालिकाले भीमसेन मन्दिर पुनर्निर्माण गर्ने निर्णय गरेका छन् । पुनर्निर्माणका लागि महानगरपालिका र स्थानीय उद्योगी व्यवसायीबाट करिब १२ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।
पाटन कृष्ण मन्दिरको पुनर्निर्माण भइसक्दा र त्यस क्षेत्रका सबैजसो संरचना पुनर्निर्माण भइसक्दा पनि भीमसेन मन्दिर भने अझै टेकोले अड्याई राखिएको छ । ललितपुर उद्योग वाणिज्य संघले संस्कृतिमन्त्री रवीन्द्र अधिकारीबाट आफैं पुनर्निर्माणका लागि सहमति पाइसके पनि पुरातत्व विभागबाट भने अनुमति पाउन सकेको छैन ।
ऐतिहासिक धरोहर पुनर्निर्माणका लागि सबै व्यवसायीहरुले सकारात्मक साथ दिएसँगै ललितपुर उवासंघका अध्यक्ष कृष्णलाल महर्जन पनि निर्माणका लागि उत्साहित देखिएका छन् । संघ अध्यक्ष महर्जन मन्दिरमा बहुमूल्य सामग्रीसमेत रहेकाले तिनको संरक्षणका लागि क्षमापूजा गरेर भत्काउन सुरु गर्ने जानकारी दिएका छन् ।