काठमाडौं । जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठमा रहेको चन्दनकृष्ण कायस्थको ४० आना जमिनको नक्कली व्यक्ति खडा गरी जग्गा किनबेच गर्दा पक्राउ गरेको हो । प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल, जमुना कुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई रहेका छन् ।
नक्कली जग्गाधनी चन्दनकृष्ण कायस्थ र श्रीकृष्ण देवकोटाको मुठ भिडाउने, लिखत पास गर्ने कार्यमा सरकारकी कर्मचारीको मिलोमतो रहेको प्रहरीले जानकारी दिएको छ । मालपोतका कर्मचारीसँग मिलेमतो गरेर कार्यालयको श्रेस्ता नै फेरबदल गरिएको महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी सुनिल मल्लले बताए । प्रहरीले अनुसन्धान गर्दा नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारेस समेत बनाएर कृष्ण देवकोटा लगायतलाई बेचेको मल्लले जानकारी दिए ।