काठमाडौं । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ नेपाल सरकारबाट र नौ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट गरी जम्मा २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ आर्थिक वर्ष २०७५÷७६ को लागि बजेट पारित गरिएको छ ।
उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने डिल्लीराम उप्रेतीले बैठकमा जानकारी दिए । बजेटलाई स्रोत र साधन अनुकूल हुने गरी नीति कार्यक्रम निर्धारण गर्न सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बैठकमा जानकारी दिए ।
त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्नको लागि त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्राडा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ ।
बैठकमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठलगायतले क्याम्पसको विकास र बजेटबारे जोड दिएका छन् ।