काठमाडौंकी केटीसँग प्रेममा परेर थुनिएको लाखे अब नाच्दै निस्कन्छ

रातो मुखौटा लगाएको डरलाग्दो अनुहार । रातै कपाल । च्यातिएको ठूलो मुखबाट निस्किएका दुईवटा दाह्रा । हातका औंलामा लामा–लामा नंग्रा । तासको कपडामा सजिएको यो पात्र ‘मजिपाः लाखे’ हो ।

भनिन्छ– उपत्यकामा जति पनि देवीदेवता छन्, त्यति नै भूत, प्रेत, ख्याक, दैत्य र लाखे छन् । लाखेलाई धार्मिक कथासँग जोडेर राक्षस वा दैत्यका रूपमा व्याख्या गरिएको छ । येँया पुन्ही (इन्द्रजात्रा) मा मजिपाः लाखेलाई ‘लाखे आजु’ का रूपमा आस्थापूर्वक पुज्ने गरिन्छ । यो लाखे राक्षसी वर्ग भए पनि उसमा प्रेम, बलिदान र त्याग छ । त्यसैले, मजिपाः लाखेलाई ‘शान्त भैरव’ पनि भनिन्छ ।

किम्बदन्तीअनुसार मजिपाः टोलकी एक ज्यापुकी छोरीसँग लाखेको प्रेम बस्छ । त्यो लाखेले मानिसको रूप लिई ज्यापुकी छोरीलाई खेतको काममा सघाउँन थाल्छ । यसरी खेतको काम चाँडै सकिएको देखेर केटीका आमाबुवा आश्चर्यमा पर्छन् ।

पछिपछि त्यो लाखे केटीको घर मजिपास्मै आउन थाल्छ । कहिले त रातभरि नै बस्न थाल्छ । यस्तो हुँदैजाँदा टोलभरी त्यो केटी र लाखेको प्रेम सम्बन्ध चर्चा हुन थाल्छ । उनीहरूको प्रेमचर्चासँगै सोही समयमा सो टोलका बच्चा पनि एकाएक गरी हराउन थाल्छन् । टोलबासी लाखेले गर्दा नै आफ्ना बच्चाहरू हराउन थालेको शंका गर्छन् । त्यसपछि उनीहरूले लाखेलाई समातेर पिट्दै केरकार गर्न थाल्छन् । लाखेले आफ्नो गल्ती स्विकार्दै केटीसँग प्रेम भएको र कुनै हालतमा आफ्नी प्रेमिका छाड्न नसक्ने बताउँछ ।

लाखेले टोलका बालबालिकाको रक्षा गर्ने र भूतप्रेतबाट सुरक्षा दिने वाचा गर्छ । अनि सबै टोलबासी मिलेर लाखेलाई एउटा घरमा बन्द गर्छन् । त्यही घरलाई ‘लाखे ननि’ (लाखेघर) भनिन्छ । इन्द्रजात्रामा मात्रै लाखेलाई बाहिर ल्याइन्छ । येँया पुन्ही (इन्द्रजात्रा) मा निकालिने लाखे नाचमा ‘रञ्जित’ समुदायको विशेष भूमिका हुन्छ ।

लाखेका नाइके राजीव रञ्जितका अनुसार भाद्र कृष्ण पक्ष एकादशीमा लाखेघरमा रहेको प्राचीन ‘पिला’ भनिने गोप्य माटोको सन्दूकबाट लाखेको मुखौटा निकालिन्छ । त्यसलाई पूजाआजा गरी रंगरोगन गर्न यट्खा टोलका चित्रकारकहाँ लगिन्छ । त्यो मुखौटालाई पूजाआजा गरी शुक्ल पक्ष दशमीको दिन लाखे ननिमा फिर्ता ल्याइन्छ । त्यसको भोलिपल्ट एकादशीमा लाखेको रातो केश सजाइन्छ । यो सबै पूजाविधि गोप्य हुन्छ । पूजाआजा गर्दा वा लाखेको मुखौटा निकाल्दा त्यसलाई पुजारीले समेत आँखा जुधाएर हेर्नु हुँदैन ।

द्वादशीका दिन इन्द्रध्वजोत्थानपछि आधिकारिक रूपमा येँया पुन्ही (इन्द्रजात्रा) सुरु हुन्छ । लाखे पनि नगर परिक्रमाका लागि तयार हुन्छ । यो दिन नाट्यश्वरको पूजा गरेर ननि चोकमा मजिपाः लाखे नाच्छ । जैसीदेवल र चिकमुगलमा तीन–तीनपटक उफ्रन्छ । यसरी उफ्रनुको अर्थ हो– टोलमा कुनै संकट एवं महामारी नआओस् । यसै दिन येँगलमा रहेको केबछेः चोकमा राजभण्डारीको घरबाट लाखेले पूजा लिनुपर्छ ।

‘त्यो घरका परिवारले लाखेलाई कुनै बेला सुन र हिरा चढाएको मान्यता छ । त्यसैले, पहिलो पूजा त्यही परिवारबाट लिनुपर्छ,’ रञ्जितले भने । बेलुकी ‘उपाः कु’ (मरेका मान्छेको नाममा बत्ती दिने) मार्गमा लाखे नाच्दै हिँड्छ । यो मार्ग जैसीदेवल, कोहिटी, क्षेत्रपाटी, ठहिटी, टेबहाल, गणबहाल, लगनलगायत टोल हुँदै जैसीदेवल पुग्छ । मजिपाः लाखे त्यो दिन लाखेघरमा फर्किएपछि नाच समापन हुन्छ ।

साताव्यापी येँया पुन्हीमा मजिपाः लाखे नाचको प्रत्येक दिनको सुरुआत उस्तै हुन्छ । पहिले नाट्यश्वरको पूजा हुन्छ । त्यसपछि जैसीदेवल र चिकमुगलमा अनिवार्य तीन–तीनपटक उफ्रनुपर्छ । आफ्नो टोलबाट बाहिर गएपछि बीचमा फर्किन हुन्न भन्ने मान्यता छ ।

अन्य दिनमा कुनै टोलरघरले बोलाउँदा लाखे पूजा लिन पुग्छ । कुमारी रथयात्रा क्रममा तल्लो टोल (कोहने), भोलिपल्ट माथिल्लो टोल (ठनेचा) र पछि बीचको टोल (नानिचा) का दिन लाखेले रथलाई बाटो देखाउँदै, भीड पन्छाउँदै अघिअघि नाच्दै हिँडछ । त्यसपछि बोलाएको ठाउँमा पूजा लिन जान्छ । रथ तान्ने दिनहरुका बीचमा लाखेघरमा पुलुकिसी र सवः भकू बोलाएर पूजा दिइन्छ । समयबजी खुवाएर पठाइन्छ । पुलुकिसी सञ्चालक टोलीले भने जात्राको अन्तिम दिन मजिपाः लाखेलाई पूजा दिन्छ । सवः भकूले भने जात्रा सकिएको केही दिनपछि भोज बोलाउँछ ।

‘पहिले पहिले लाखे, सवः भकू र पुलुकिसी जात्रामा भेट्यो कि झगडा पर्थ्यो । २०३२ सालतिर झगडा सुल्झाउन मैत्रीपूजा हुन थाल्यो,’ रञ्जितले भने, ‘त्यो समयदेखि एकअर्कालाई पूजा दिने चलन बसेको हो ।’ जात्रा सकिएको दुई–तीन दिनपछि लाखेघरमा लाखेको पूजा गरिन्छ । नासः देवः (नाट्यश्वर) लाई बलि दिइन्छ । जात्रामा समावेश भएकालाई समयबजी र भोज खुवाइन्छ । भोज सकिएपछि घरको तल्लो कोठामा भोजका सामान भण्डार गरिन्छ । भोलिपल्ट घरमा साँचो लगाई बन्द गरेर पूरै घर छाडिन्छ । लाखेको मुखौटा पनि पीलाभित्र राखिन्छ ।

‘यो दिन लाखेघरमा लाखे स्वयं आएर भोज गर्छ भन्ने मान्यता छ,’ रञ्जितले भने, ‘घरमा के–के आवाज आउँछ भनिन्छ । त्यहाँ कोही गएर ढोका खोली हेर्न हुन्न ।’ मजिपाः लाखे नाचमा विभिन्न स्थानीय लाखे बन्छन् । त्यसका लागि लाखेले कुनै तालिम लिनु पर्दैन । विधिको पालना भने गर्नुपर्छ । यसपटक सानु महर्जन, लक्ष्मण रञ्जित, शिव महर्जन, जयदास रञ्जित, सन्तोष रञ्जित लगायत लाखे बन्दैछन् ।

मजिपाः लाखेसँगै लाखेलाई जिस्क्याउन ‘झ्यालिँचा’ भनिने सानो बालक हुन्छ । झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ । लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्छ । ‘लाखे–झ्यालिँचा’ को नाट्य प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिन्छ ।
लाखे र झ्यालिँचाको पनि एउटा किम्बदन्ती छ । लाखेलाई तलेजु भवानीको संरक्षकका रूपमा लिइन्छ । तत्कालीन समयमा मान्छे खाने र हेर्दैमा डरलाग्दो भएकाले लाखेलाई सहरमा राख्न कसैले स्वीकारेनन् । त्यसैले, शोभा भगवतीपारिको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो । ‘मान्छे खाँदिन’ भन्ने वाचामा उसलाई इन्द्रजात्रामा प्रस्तुत गरिने चलन सुरु भएको मान्यता छ । लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो बालकलाई नाचमा उपस्थित गराइन्छ । लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ । झ्यालिँचाको उमेर ३ देखि १२ वर्षको हुन्छ । यसपटक ३ वर्षीय रमिर रञ्जित पहिलोपटक झ्यालिँचा बन्दैछन् ।

गुणकामदेवको पालादेखि लाखे नाच सुरु भएको मानिन्छ । नेपाल सम्बत् ८०० तिरको अभिलेखमा यसको उल्लेख छ । कतिपयले भने राजा हरिसिंह देवले सिम्रौनगढबाट आफूसँगै लाखेनाच उपत्यका भित्र्याएको बताउँछन् । सेतोपाटी डटकमबाट साभार ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...