काठमाडौँ । असोजको ५ गतेबाट दशैंको लागि अग्रिम टिकट बुक नगर्ने निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै महासंघले यस्तो निर्णय गरेको हो । सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको छ । महासंघका महासचिव सरोज सिटौलाका अनुसार मूल्यवृद्धि ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेको तर, सरकारबाट कुनै सुनुवाई नभएको बताउँदै महासंघका पदाधिकारीबीच भएको छलफलमा अग्रिम टिकट बुक नगर्ने निर्णय भएको बताएका छन् ।
मूल्यवृद्धि गरेकोले सवारी साधन चलाउन नसक्ने भन्दै चाडपर्व नजिकिँदै गर्दा सरकारले किन मूल्यवृद्धि ग¥यो भनी सिटौला प्रश्न गरे । तर अग्रिम टिकट बुकिङ नभएपनि सवारी साधन दैनिक सुचारु हुने महासंघले जनाएको छ ।
तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरेका छन् । असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । यदि टिकट बुकिङ नभए वार्ता मार्फत समाधान गर्ने अधिकारीले बताए ।
त्यस्तै यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार सहमति निर्णय अगााडि नै भएकाले मूल्यवृद्धि र विरोधको विषयमा विभागलाई केही जानकारी नभएको र अग्रिम टिकट बुक हुने दाबी गरेका छन् ।
मूल्य वृद्धि स्वचालित प्रणाली अन्तर्गत भएकाले फिर्ता लिन असम्भव रहेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण १५ दिनमा ३१ करोड ६७ लाख रुपैयाँ घाटा हुने भएकोले मूल्य फिर्ता लिने असम्भव रहेको निगमले बताएको छ ।