इन्द्रजात्रा र कुमारी रथयात्रा

नेवारहरूको आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा छ । जुन उनीहरूको मौलिक पहिचान हो । नेवारहरूको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृतिका रूपमा विश्व प्रसिद्ध छ । नेवारी चाडबाड, विभिन्न देवीदेवताका जात्रा र पर्वले गर्दा नेवारहरू संस्कृतिमा सम्पन्न भएका हुन् । नेवार समुदायको आफ्नै नेपाल भाषा र आफ्नै नेपाल सम्वत् सरकारी र गैरसरकारी कामकाजमा प्रयोग हुँदै आएको थियो । यसरी पूर्ण रूपमा नेवारको मात्र देश भइरहेको बेलादेखि नै नेपालमण्डप नेवारी संस्कृतिका रुपमा यँयाः अर्थात् इन्द्रजात्रा मनाइँदै आइरहेको छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी ८ दिनसम्म इन्द्रजात्रा मनाइन्छ ।

देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भनेकाले फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

इन्द्रलाई चोर भन्दै सजाय दिएको सम्झना स्वरूप नेवारहरूले काठको इन्द्र बनाएर दुवै हात फैलाएर डोरीले बाँधी इन्द्रजात्रा मनाउने गरेको हो । आखिर जेजस्तो भने तापनि इन्द्र र आमा दागीं मत्र्यलोकमा आई काठमाडौंका मानिसको उद्धार गरेकाले इन्द्रजात्राका दिन दागीं जाने चलन चलेको हो । यो चलन लिच्छविकालीन राजा गुण कामदेवले चिंकमुगलको अट्कोनारायण स्थान अगाडि इन्द्रध्वज ठड्याएर येंमाः द्यः अर्थात इन्द्र देवता प्रदर्शन गरेर इन्द्रजात्रा मनाउने चलन चलाएको हो । पछि राजा प्रतापसिंह शाहले नेसं ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका दरबारको कालभैरव अगाडि इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा मनाउन थालिएको हो भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन यःसिं इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । यःसिं ठड्याउन चाहिने ३२ हात लामो, घेरा भएको सिंगो रूख ल्याउन काठमाडौंका मानन्धर र ठिमीका गुठियारहरू संयुक्त रुपमा यःसिं वनमा गई बोका बलि दिएर यःसिं रुख काटेर ल्याउनुपर्छ । ‘कुनचाहिँ रुख काट्ने’ भनी वनमा बलिको बोको छोडिन्छ, बोकोले जुन रुखलाई हान्छ, त्यही रुखमा त्यही बोको बलि दिई रुख काटिन्छ । त्यहीबाट रुख तानेर ल्याई इन्द्रको नाममा इन्द्रध्वजोत्थान भनी यःसिं ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन्, बैण्ड बाजा बजाउँछन्, मालश्री धुन पनि बजाउँछन् । इन्द्रको प्रतीकको रूपमा काठको इन्द्रलाई इन्द्रचोक, मरु, नरदेवी, किलागल ज्यावहाल, ब्रम्हटोलका साथै विभिन्न टोलमा प्रदर्शित गरिन्छ । यःसिं ठड्याउने दिनदेखि काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरूले विभिन्न स्थानमा हाथु द्यः भैरवका साथै विभिन्न देवताहरू प्रदर्शन गरेर दलुमत बाल्छन् । दिवंगतहरूका नाममा यो दिन उपत्यकाका बाटोमा भएका विभिन्न देवीदेवता र चैत्यहरूमा पाल्चा मत बत्ती दिई धूप बालेर उपाकु जाने भनी परिक्रमा गर्छन् । मध्यरातमा इन्द्रचोकका आजु द्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनको लागि राखिन्छ । यो दिनदेखि हल्चोकका सवः भकु, किलागलको पुलुकिसी र देवीनाच, मजियारको मजियाः लाखे, कुम्हा ननिको नाच, भक्तपुरको महालक्ष्मी नाच र बाँदर नाचका साथै त्रिपुरेश्वरको १० अवतार नाच पनि हनुमानढोका वसन्तपुरमा ल्याई प्रदर्शन गरिन्छ ।

यही दिन रात्रिमा इन्द्रचोकमा प्रदर्शनको लागि राखिने आजु द्यः आकाश भैरव किराती राजा यलम्बर हुन् । ५ हजार वर्षअघि हिन्दूस्तानको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । यलम्बर यति शक्तिशाली थिए कि उनले ‘युद्धमा कौरव र पाण्डवमध्ये जुन पक्षले हार्छ, उसैको पक्षमा युद्ध लड्छु’ भन्न थालेछन् । युद्ध भने सुरु भइसकेको थिएन । यस्तो भयो भने त महाभारत युद्ध कहिल्यै पनि नसकिने भयो भन्ने ठानेर श्रीकृष्णले छल गरी सुदर्शन चक्रले यलम्बरको टाउको काटी दिएछन् । महादेवको अंश भएका राजा यलम्बर आफैं तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफ्नो टाउको आकाश भई राखी महाभारतको युद्ध पूरै हेरेर आफ्नो देशमा फर्केर आई सिद्ध भएका रहेछन् । यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनिएको हो । काठमाडौंका प्रजाहरूले आफ्ना राजाको सम्मानमा मन्दिर बनाई इन्द्रचोकमा राजा यलम्बरको सिद्ध भएको टाउकोको स्थापना गरी आजु द्यःको रूपमा मान्दै आएको हो भनिन्छ । यही दिनको स्मरणमा हरेक वर्ष आजु द्यः आकाश भैरवको टाउको र अर्कोतर्फ वाकाः द्यः भनी आजु द्यः काभित्रको टाउकोलाई पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको हो ।

वर्षा ऋतु सकिएर शरद ऋतु लाग्ने र दशैं चाड पनि तीन हप्ता मात्र बाँकी रहेको समयमा पर्ने यो जात्रा निकै रमाइलो हुन्छ । भाद्र शुक्ल अनन्त चतुर्दशी जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्दी बैठकमा राष्ट्र प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कुमारी रथयात्रा चलाइन्छ । साथै गणेश र भैरवको रथयात्रा पनि गरिन्छ । यही समयमा मजियाः लाखे, सवः भकु र दशावतार, महालक्ष्मी र पुलुककिसीको नाच पनि नचाइन्छ ।
यो दिन क्वः ने या भन्दै कुमारी, गणेश र भैरवको रथ वसन्तपुरबाट अट्कोनारायण, चिंकमुगल, लगन, गोफल, बम्हटोल, बन्दे, हिउमत, जैसीदेवल, क्वःहिटी, भीमसेन टोल, मरु, इलाछें, तहविल हुँदै कुमारी घर फर्काइएपछि पहिलो दिनको रथयात्रा सकिन्छ । यो क्वःनेयाको समयमा जैसीदेवलको डबलीमा दि प्याखँ देवी नाच नचाइन्छ । यही दिन कुमारीको थयात्रा सकिएपछि दागींलाई थःने क्वःने अर्थात माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतीकको रूपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दागींलाई, धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दागींको पछिपछि लाग्दै काठमाडौंका नेवारहरूले सोही वर्षमा दिवंगत भएका आपनतहरूको नाममा नौथरी गेडागुडी बाटोभरि छर्दै हिँड्छन् । यो दिन स्वर्ग जाने बाटो मानिएको थानकोटको इन्द्रदहमा ठूलो मेला लाग्छ ।

भाद्र शुक्ल पूर्णिमाका दिन यँयाः पुन्ही भनेको समय पुन्ही हो । यो दिन नेवारहरूले घरैपिच्छे छ्वयला, लसुन, अदुवा, कालो भटमास राखेर समयबजी खाने र बाँड्ने चलन छ । घरैपिच्छे केटाकेटीहरूले ‘ला छकू वयेक समयबजी, वल वल पुलुकिसी’ भन्दै समयबजी माग्न जाने चलन छ । समयबजी माग्ने क्रममा पुलुकिसी पनि टोल टोलमा जाने गर्दछ । सन्ध्या समयमा इन्द्र, हाथु द्यः भैरव र दलुमत पूजा गरेर हाथु हायकेगु भन्दै आजु द्यः आकाश भैरवको मुखमा पाइप जोडेर जाँड झारेर प्रसादको रूपमा जाँड र समयबजी बाँडेर खान्छन् । यसै दिन कुमारी रथयात्राको दोस्रो दिन थःने या मनाइन्छ । थःनेया गरिँदा पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफुल, यट्का, नरदेवी, टेंगल, न्ह्यौखाः बांगेमुढा, न्हयैकन्तला, असन, केलटोल, इन्द्रचोक, मखन हुँदै वसन्तुपुरमा पु¥याएर रथयात्रा सकिन्छ । यसरी थनेःया माथिल्लो टोलमा रथ यात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दि प्याखँ देवी नाच नचाइरहेको हुन्छ । यही पूर्णिमाका दिन भक्तपुरको सिद्ध पोखरीमा मेला लाग्छ ।

आश्विन कृष्ण चौथीका दिन नानीचाःया भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचाः याः लाई दथुयाः अर्थात बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखन र हनुमानढोका दरबार हुँदै वसन्तपुर पुगेपछि नानीचायाःको समापन गरिन्छ । राजा जयप्रकाश मल्लले भित्रिनी रानीलाई देखाउन कुमारी रथयात्रा यहाँ चलाएका हुन् भनिन्छ । यही दिन इन्द्रध्वज विसर्जन गर्ने भन्दै इन्द्रध्वज ढालेर टेकु दोभानमा लगी फाल्ने बित्तिकै इन्द्रजात्रा सकिन्छ ।

जीवित कुमारी देवीलाई यसरी मान्नुपर्ने सन्दर्भमा एउटा ऐतिहासिक तथ्य लुकेको पाइन्छ । राजा त्रैलोक्य मल्लले तलेलु भवानीसँग पासा खेल्दा रहेछन् । कालो पर्दाभित्र तलेजु भवानी र बाहिर राजा तैलोक्य मल्ल बसी पासा खेल्दा राजकाजसम्बन्धी कुराकानी गरिँदो रहेछ । यसरी दिनहुँ पासा खेल्ने क्रममा एक दिन पासा खेल्दै गर्दा राजा त्रैलोक्यले पासा हान्दै गरेकी तलेजु भवानीको हात राम्ररी देखेछन् । भवानीको हात त यति राम्रो छ भने मुख कति राम्रो होला भनी उत्सुकतावस पर्दा उघारेर हेर्ने प्रयास गर्दा तलेजु भवानीले ‘आइन्दा म आउँदिन । शाक्य जातकी बालिकाको शरीरमा म आउने छु’ भनी त्यही कुमारी कन्यासँग सरसल्लाह गर्ने गर्नु भन्दै तलेजुी भवानी लप भइछिन् । त्यही बेलादेखि शाक्य जातकी जीवित देवी कुमारीको हातबाट राजाले इन्द्रजात्राको समयमा टीका ग्रहण गर्ने चलन चलेको हो भनिन्छ ।

मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ललाई श्रीकुमारीले ‘अब तिम्रो राज्य गर्ने शक्ति क्षीण भइसक्यो, राज्य बचाइ राख्ने हो भने मेरो रथयात्रा गरी देश परिक्रमा गराउनु’ भनेकीले राजा जयप्रकाशले ने.सं ८७६ देखि कुमारीको रथयात्रा चलाएका हुन् । तर, राजा जयप्रकाशले सुख सयलमा भुलेर देश र जनताको चिन्ता नलिई चाडबाड र जात्रामा मात्र भुलिरहे ।

स्मरणरहोस्, नेवारहरूले आफ्नो धर्म, संस्कृति र परम्परा चलाउँदै आएको राज्यमा गोरखाका राजा पृथ्वीनारायण शाहले ने.सं ८८८ मा काठमाडौंमा इन्द्रजात्रा मान्दै कुमारीको रथयात्रा गरी रमाइलो सँग जाँडरक्सी खाई चाड मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल मण्डल जितेका हुन् । पृथ्वीनारायण शाहले नेवारी संस्कृतिलाई नमानी यहाँ शासन गर्न अप्ठेरो पर्ने कुरा बुझेर नेवारी संस्कृति, चाडवाड र जात्रा सबै जस्तो छ, त्यस्तै मान्ने वचन दिएकाले आजसम्म पनि कुमारीको रथयात्रा चल्दै आएको हो ।

सव भक्कु

भैरबलाई तत्कालिन उपत्यकाभित्रको राज्यको संरक्षकको रुपमा लिइन्छ ! हल्चोक स्थित सव भक्कु (हल्चोक–आकाश भैरब) लाई पश्चिम दिशाबाट धेरै नै बिघ्नहरु तथा राक्षसहरुले दुख दिन थाले पछि बिघ्नहरुबाट संरक्षण गर्न स्थापना गरिएको थियो ।

निलो अनुहार र मास्क लगाएको भैरब र सुन्तला – रातो रंगको अनुहार भएका २ सहयोगीहरुमा बाघको अनुहार भएकालाई सिम्बा द्यः र सिहंको अनुहार भएकालाई धुम्बा द्यः भनिन्छ । इन्द्रजात्राको बेला हल्चोक भैरब र अन्य २ सहयोगीहरु सिम्बा द्यः र धुम्बा द्यः नाच्दै निस्कने गर्दछ । सिम्बा द्यः र धुम्बा द्यःलाई चण्डी र कुमार पनि भनिन्छ ।

पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका हमला गर्दा उनि एकचोटी बेहोस भएका थिए । त्यतिबेला यिनै हल्चोक आकास भैरबले सहयोग गरेर गोर्खा सम्म फर्काएका थिए । यसैको सम्झनामा नेवार मध्यकै एक जाति पुटुवारहरु आकाश भैरब, सिम्बा द्यः र धुम्बा द्यःको रुपमा सजिएर नाच देखाउने गरिन्छ । शहरका बिभिन्न समुदायहरुले आमन्त्रण गर्छन र पुजा गर्ने गर्दछ । आकाश भैरब, सिम्बा द्यः र धुम्बा द्यःनाच्दा रोगब्याधी र नकारात्मक शक्तिहरु निर्मुल हुने जनविश्वास रही आएको छ । कसैले पनि आकाश भैरब, सिम्बा द्यः र धुम्बा द्यःबाटो काट्दा नराम्रो हुने विश्वास रही आएको छ इन्द्रजात्रा समन्वयकर्ता सुरेन्द्र श्रेष्ठका अनुसार आकाश भैरब, सिम्बा द्यः र धुम्बा द्यः भएर नाच देखाउन अबिबाहित हुनु पर्ने र सुद्ध हुनु पर्ने भनाई रहेको छ ।

पुलुकिसी

किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्रदेव नेपालमण्डल, विष्णुमति नदी अवस्थित निर्मल तिर्थ दर्शन गरेर फर्कने बेला पारिजात फुल चोर्दै गर्दा समातेर बाँधेर राखे । आफ्नो इष्टदेव तथा बाहान स्वर्गमा फर्केर नआएपछि एरावत हाती आश्चर्य मान्दै छटपटाइ रहे ! २/३ दिनसम्म पनि इन्द्रदेव स्वर्ग नफर्केपछि एरावत हात्ती स्वर्गबाट धर्तीमा झरे । यता उता भौतारिँदै इन्द्रदेवलाई खोज्दै रहे । इन्द्रदेव जता गए पनि एरावत हात्ती चढेर जाने गर्थ्यो, अब इन्द्रदेव नै नरहेपछि एरावत हात्ती कसरी बस्न सक्थे ? तसर्थ नेपालमण्डलको गल्ली गल्ली हुँदै अन्नपानी वास्ता नगरी यता उता भौतारिन्दै खोज्दै हिंडे ।

नेपालमण्डलमा यसरी यता उता भौतारिन्दै गरेको हात्ती देखेर मानिसहरु छक्क परे । गहनाहरुले सुसज्जित सेतो हात्ती, हेदै राम्रो ऐरावत हात्ती, बाटोमा हिडिरहेका मानिसहरुलाई पनि वास्ता नै नगरी दौडादौड, भागमभाग गर्दै भौतारिरहेको देखेर मानिसहरुले एरावट हातिलाई समातेर किलागलस् मा बाँधी दिए ।

यता आफ्नो छोरा हेर्न पठाएको हाती पनि नफर्के पछि इन्द्रदेवका माता आफै ध्यानमा बसेर हेर्दा त आफ्नो छोरा र एरावट हात्ती दुबैलाई बाँधेर राखेको देखिन् । त्यसपछि माता आफै धर्तीमा झरेर दुबैलाई स्वतन्त्र गराई स्वर्गमा फर्काए ।

यसैको सम्झानार्थ इन्द्रदेव नरिसाओस् भनेर इन्द्रजात्राको चलन रहेको भनाइ छ । इन्द्रजात्रामा एरावत हात्ती इन्द्रदेबलाई खोज्दै हिंडेको प्रतिकको स्वरूप आजसम्म पनि पुलुंकिसी शहरभरि यता उता घुमाउने चलन रहेको छ । त्यसैगरि, आफ्नो छोरालाई बाँधेर राखेकोले रिसाएर श्राप दिन लाग्दा भुल भयो, क्षमा पाउँ भनि क्षमा मागेको हुनाले आज सम्म पनि इन्द्रजात्रा प्रतिकको रुपमा इन्द्रजात्राको रथ तानी सकेपछि दागीं ल्याउने चलन रहेको छ । इन्द्रलाई लिन आएको बेला इन्द्रदेबको माताले बत्ति बाल्दै आएको प्रतिक स्वरूप इन्द्रजात्रा पर्वको बेला दागींको अगाडी बहुमत र बौस्मत र लामो बाँसमा लहरै पाल्चा बाल्दै शहर घुमाउने चलन अहिले पनि रहेको छ ! दांगी रिसाएर भाग्छ भन्दै दायाँ बायाँ मानिसहरुले हात समातेर राख्ने गरिन्छ ।

साभारः nepalgalleries.blogspot.com बाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...