रौतहट । रौतहट गरुडा नगरपालिका–९ श्रीपुर र गमहरिया गाँउबीच नहरको छेउमा शव जलाउने बिषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
झडप नियन्त्रण गर्न प्रहरीले राउण्ड गोली र अश्रुग्यास समेत प्रहार गरिएको थियो । उक्त झडपमा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी र स्थानीय पनि घाइते भएका छन् । श्रीपुर र गमहरियाबीच विवादित स्थानमा एक समूहले गरुडा–९ का ६५ वर्षीय रामपृत शहनीको शव जलाउन खोज्दा दुुई समूहबीच झडप भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले ३२ राउण्ड हवाई फायर र २३ राउण्ड अश्रुुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले बताएका छन् ।
उक्त स्थानमा शव जलाउन नहुने सहमति विपरित एक समूहले शव जलाउन खोज्दा प्रहरीले रोक्न जाने क्रममा ढुंगामुढा सुरु भएपछि झडपले उग्ररुप लिएको एसपी ढकालले बताए । दुईगाँउको बीचमा रहेको सो स्थानमा शव जलाउन नहुने भनी दुई पक्षीय सहमति भएपनि एक समूहले पटक पटक सहमति विपरित शव जलाउन खोज्दा विवाद भएको थियो ।
झडपलाई नियन्त्रण गर्नको लागि ईलाका प्रहरी कार्यालय गरुडा, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, शिवनगर, समनपुर, जिल्ला प्रहरी कार्यालय गौरका साथै नेपाल प्रहरीका एकदर्जन बढी पोष्टका जनशक्ति र सशस्त्र प्रहरीको घण्टौंको प्रयासपछि अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।