काठमाडौं । भूकम्प गएको साढे ३ वर्ष भइसकेको छ । अझै पनि कतिपय जिल्लामा पुनर्निर्माणका कार्य भईरहेको छैन भने कतिपय स्थानहरुमा पुनर्निर्माण कार्य सुरु भएर पनि सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार अहिलेसम्म ५ लाख ५५ हजार ६ सय १२ घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घर सम्पन्न भएका छन् भने २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेको जनाइएको छ ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या झण्डै साढे तीन लाख पुग्न सक्ने प्राधिकरणको अनुमान छ । दसैं तिहारपछि बाँकी घर पुनर्निर्माणको काम थालनी हुने पनि प्राधिकरणको अपेक्षा छ ।
प्राधिकरणका अनुसार अनुदान सम्झौता सम्पन्न लाभग्राही ७ लाख २३ हजार ७ सय २८ मध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता पाइसकेको र ५ लाख ३ हजार ३६ लाभग्राहीले दोस्रो किस्ता लिइसकेका छन् भने २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । गुनासो फर्छ्यौटपछि कुल लाभग्राही संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ भने ६१ हजार ८ सय ९१ प्रवलिकरणको सूचीमा रहेको प्राधिकरणले जानकारी दिएका छन् ।
जिल्लागत रुपमा सिन्धुपाल्चोकमा ४९,५४०, दोलखामा ४४,४६१, गोरखामा ३६,४९०, धादिङमा ३५,६६१, नुवाकोटमा २८,१५०, रामेछापमा २३,७३४, काभ्रेपलाञ्चोकमा २०,७५२, सिन्धुलीमा ११,११०, ओखलढुङ्गामा १०,७८७, ललितपुरमा ३,४५५, भक्तपुरमा ५,५३०, काठमाडौंमा ७,४३८, रसुवामा ८,५९१, मकवानपुरमा ८,३४६, खोटाङमा १,१९१, सोलुखुम्बुमा ४३०, स्याङ्जामा ५२०, गुल्मीमा ३१५, अर्घाखाँचीमा १६ र लमजुङमा ७ घर पुनर्निर्माण सम्पन्न भएको छ ।
त्यस्तै निजी आवास निर्माणमा गत आर्थिक वर्षसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण गरिएको थियो भने चालु आर्थिक वर्षका लागि प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष ०७२/०७३ मा १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१, ०७३/०७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८, ०७४/०७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ अनुदान वितरण गरिएको छ ।
अति प्रभावित १४ जिल्लामा छुट भएको र पुनः जाँचबाट १ लाख १८ हजार ७ सय ८० गुनासो तथ्यांक सङ्कलित गरी त्यसमध्ये ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राहीको नतिजा प्राधिकरणले सार्वजनिक गरेको छ । बाँकी गुनासोकर्ताको बारेमा थप छानविनका लागि लागि स्थानीय तहमा पठाइएको छ । त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ भने ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय गरेको छ ।
प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पौष मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने समयावधि तोकिएको छ ।