काठमाडौँ । उपत्यकाको चाबहिलस्थित मालपोत कार्यालयका कर्मचारीहरुलाई जग्गा किर्ते गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ ।
पक्राउ पर्ने कार्यालयका उपसचिव कमलप्रसाद तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको अभियोगमा पक्राउ गरेको हुन् । मालपोतका प्रमुख र कर्मचारीहरूको मिलेमतोमा गौतमको नाममा जग्गाधनी कायस्थको नक्कली वारेसनामा बनाई ४० आना क्षेत्रफलको तीन कित्ता जग्गा ध्रुवप्रसाद भट्टराई र श्रीकृष्ण बडुवालको नाममा रजिस्ट्रेसन पास गरिएको थियो ।
यसअघि पनि सोही प्रकरणमा मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई प्रहरीले पक्राउ गरेको थियो ।