काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको छ ।
बनेपा नगरपालिकास्थित साँगा चोकका पाँच दर्जन भन्दा बढी घरहटरा, होर्डिङ डिभिजन सडक कार्यालय भक्तपुरले हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरिले जनाएको छ ।
घरटहरा हटाउन डिभिजन सडक कार्यालयले भदौ २८ गते नै अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँ बायाँ २५ गज सडक सिमानाभित्रका घर टहरा हटाउन भनी पन्ध्र दिने सूचना जारी गरेको थियो । तर स्थानीयले भने दसैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका छन् । साँगा चोकदेखि बनेपा बजारसम्ममा मापदण्ड विपरीत बनेका एक सय ५६ घर भत्काउने डिभिजन कार्यलयले जनाएको छ । स्थानीयहरुले वडाध्यक्ष तथा मेयरका विरुद्ध नाराबाजी लगाएका थिए ।