प्युठान । प्युठानमा पत्रकार र वडाध्यक्ष बीच कार्यकक्षमै हानाहान भएको छ । स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराई बिच हानाहान भएको हो ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा पत्रकार विक सम्पर्कमै आउन चाहेनन् तर घटना भएकै दिन सोमबार नै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले विरोध गर्दै विज्ञप्तिमा विकमाथि वडा अध्यक्षले खुकुरी प्रहार गरेको आरोप लगाएका छन् ।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिकाको गिट्टी बालुवाको टेन्डरमा कमिसनको विषयमा कुरा नमिलेपछि दुवै पक्षमा कुटाकुट भएको बताएको छ । वडाध्यक्ष टेकबहादुर भट्टराईका अनुसार सुरूमा पत्रकार केन्द्रप्रकाश विकले हात छोडेपछि आफूले पनि हात छोड्न बाध्य भएको बताए ।
विप्लव नेतृत्वको क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य समेत रहेका विक र तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका भट्टराई दुवै घाइते भएका छन् । उपचारका लागि अध्यक्षलाई बुटवल लगिएको छ भने पत्रकार विकको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।