तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले बनाउ लागेको एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि पूर्व छनौट भएका ६ कम्पनीलाई प्रस्ताव माग गरेको छ ।
आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरिएको थियो भने एउटा अमेरिका, तीन युरोप र दुई एसियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् । काम शुरु भएको २० महिनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीले जानकारी दिए ।
डिपिआर तयार गर्नका लागि एसियाली विकास बैंक (एडिबी) ले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ । छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनीयरिङ तयार गर्नुपर्नेछ ।
कम्पनीले शुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए तापनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो । तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह हुँदै टेलरेसबाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुने कम्पनीले जनाएको छ । कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने भएको छ । यस अर्धजलाशयको लागत २२ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।