नुवाकोट । नुवाकोटको सूर्यगढी गापाका २ परिवारलाई प्रदेशसभा सदस्य बद्री मैनालीले २ महिनाको तलब ९० हजार दिएका छन् ।
ती २ परिवारले पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका थिए । नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई उक्त रकमको चेक प्रदान गरिएको थियो । दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५÷४५ हजार दिएको मैनालीले बताए ।
गत साउनमा राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो । पहिरोबाट नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएका थिए । मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने प्रतिवद्धताअनुसार सहयोग गरेको बताए । मैनाली नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को ‘प्रदेश ख’ बाट निर्वाचित भएका हुन् ।