भक्तपुर । बजार अनुगमन समितिले भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित भइरहेको औषधि पसल अनुगमन गरेको छ । अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको समितिले जानकारी दिएको छ ।
भक्तपुरको कमलविनायक, भत्केको पाटी र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नगरी सञ्चालन गरिएको पाइएको समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले जनाए ।
फार्मेसीमा रहने बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वीकृति बिना क्लिनिक सञ्चालन गरेको समितिले अनुगमन गर्ने क्रममा पत्ता लगाएको छ ।
अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजि र ५०० एमजिको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ । अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरु म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ ।
अनुगमन समितिले म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गर्दै ती सबै पसललाई तीन दिनभित्र दर्ता गरी स्वीकृति लिएर अनुमतिपत्र प्राप्त भएको व्यक्तिले मात्र क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ ।