नारायणगोपालले त्यसपछि कहिल्यै गाएनन् रानी ऐश्वर्यका गीत

नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन। तर, नगेन्द्र र गोपाल दार्जिलिङको एउटै कलेजमा पढ्थे र उनीहरुबीचको मित्रता प्रगाढ भइसकेको थियो। नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ। नगेन्द्र कविता लेख्थे। त्योभन्दा पनि अझ उनी मुक्तककारका रूपमा दार्जिलिङभर प्रसिद्ध थिए।

नेपाली भाषा–साहित्यमा उनी राम्रो ज्ञान राख्थे। एक किसिमले पारङ्गत थिए भन्दा पनि हुन्छ। उनको नेपाली भाषा–साहित्यप्रतिको यही दक्षतालाई बुझेर कहिलेकाहीँ शिक्षकले उनैलाई कक्षा चलाउनेसमेत जिम्मेवारी दिन्थे। कतिपल्ट त उनले आफ्नै कक्षाका सहपाठीहरूका नेपाली विषयका कापीसमेत जाँचेका थिए। त्यसैले उनलाई साथीहरूले ’गुरु’ को उपाधि दिए।

नगेन्द्र हिलभ्यु होस्टेलमा बस्थे। त्यस होस्टेलमा बस्ने एक जना साथी थिए। तिनी एकपटक एकोहोरो मायामा फसेछन्। अनि, तिनले बडो भावुक भएर एक साँझ नगेन्द्रलाई आफ्नो प्रेमकहानी सुनाएछन्। भनेछन्, ‘हेर गुरु, म त्यो केटीलाई असाध्यै चाहन्छु, तर ऊ मेरी हुन सक्तिन। त्यसैले जीवनमा फेरि ऊसँग मेरो भेट नहोस् भन्ने चाहन्छु। त्यसलाई म सीमान्त माया गर्छु। म त्योसँग भाग्न चाहन्छु। जब ऊ मेरी हुन सक्तिन भन्ने लाग्छ अनि त्यो पीडा मनमा यसरी बिझ्छ, ऊतिर हेर्दा पनि काँडाले च्वास्स मुटुको कुनै कुनामा घोचेजस्तो दुख्छ।’

नगेन्द्रले ती साथीलाई सम्झाए, बुझाए। ‘प्रेम यस्तै हो, कहिलेकाहीँ आफूले मन पराएकी केटीसँग विवाह नहुनसक्छ। तर संसार यत्तिकै चल्दैन। तिमीलाई माया गर्ने ऊभन्दा सुन्दर अरू केटीहरू पनि पाउन सक्छौ। तिमी किन त्यसैका लागि यति हत्ते हाल्छौ?’

उनले दार्शनिक शैलीमा भने, ‘हेर, जन्म, विवाह र मृत्यु मानिसको वशमा हुँदैन। त्यसैले तिमीले त्यो केटीभन्दा अझ सुन्दर, शालीन केटी खोज। प्रेम गर र त्यसैसँग विवाह गर। तिमी यतिमै हतास नहोऊ।’

त्यस दिन नगेन्द्रले साथीलाई उपदेश दिएर सम्झाउने कोशीश त गरे। तर उनी आफैले आफ्नै मनलाई भने सम्झाउन सकेनन्। साथीको वियोगान्त पीडाले उनको मन–मुटु बेस्सरी हल्लायो। त्यस रात उनले त्यो पीडालाई आत्मसात् गरिरहे। भोलिपल्ट गोपाल योञ्जन र उनी हिमालय कला मन्दिर गए। गोपालले लय खोजे, अनि नगेन्द्रले गीतको बान्की।

अनि, जन्म्यो यो गीतः

बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै फेरि बल्झेर दुख्छ

नारायणगोपालले गाएको यो गीत त्यसयता आजसम्म पनि एकनास लोकप्रिय भएको छ। पछि नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापा नेपाली आधुनिक सङ्गीतमा अविभाज्य हुनपुगे।

कवि ईश्वर वल्लभ दार्जिलिङमै टर्नबुल हाइस्कुलमा संस्कृत र नेपाली पढाउँथे। र, नारायणगोपालसँग उनको पत्राचार भइरहन्थ्यो। नारायणगोपालले आफ्नो पहिलो र अन्तिम एकल गायन कार्यक्रम ‘स्वर्णिम सन्ध्या’ मा यो गीत गाउने क्रममा यसको प्रसङ्ग कोट्याएका छन्।

उनी त्यसबेला भारतको बरोदामा शास्त्रीय सङ्गीतको अध्ययन गरिरहेका थिए र विदामा दार्जिलिङ पुगेका थिए। त्यहाँ पुगेर ईश्वर वल्लभसँग भेटे। वल्लभ वास्तवमै सहृदयी व्यक्ति थिए। उनले नारायणगोपालको स्वरको विलक्षणता बुझेका थिए र गोपाल योञ्जनको सङ्गीतको प्रतिभालाई पनि नजिकबाट अनुभव गरेका थिए। अनि, उनले सोचेछन्, ‘यी दुईको जोडी बाँधिदिन पाए सङ्गीतको लामो रेसमा धेरै महत्वपूर्ण योगदान पुग्नेछ।’

यो सन् १९६५ को कुरा हो। वल्लभले नगेन्द्र थापासँग पनि सल्लाह गरे र त्यहाँको प्रसिद्ध मन्दिर महाङ्कालमा लगेर मकलमा आगो बालेर नगेन्द्र थपा र कर्म योञ्जन साक्षी बसेर विधिवत् रूपमा मीत लगाइदिए।

त्यसपछि उनीहरूले जीवनभर एक अर्काको नाम काढेनन्। ‘मीतज्यू’ भनेर सम्बोधन गरे।

हो, त्यसरी ‘मीतज्यू’ बनेपछि नारायणगोपालले गाएको गीत थियो, ‘बिर्सेर फेरि मलाई नहेर।’

यो गीत अलिपछि जन्मिएको हो। सुरुमा उनको सङ्गत गीतकार रत्नशमशेर थापासँग भयो। २०१८ सालतिरै थापाको रचनामा नारायणगोपालले तारादेवीसँग गाएको गीत ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ र दिलमाया खातीसँग गाएको ‘विछोडको पीडा’ ले उनलाई लोकप्रिय बनाइसकेको थियो। तर टाढा दार्जीलिङमा बसेर पढिरहेकी पेमाला लामालाई उनको स्वरले पहिलो झमटमै जुनरूपमा आकर्षित गर्‍यो, गीतका गेडाले त्यति छोएनन्। पेमाला र नारायणगोपालबीच लामो समयसम्म पत्रमित्रता चल्यो। अनि पेमालाले नारायणगोपाललाई भनिन्, ‘तपाईंको स्वरले मेरो हृदयमा छोयो। तर तपाईंले अलि गम्भीर र कालजयी गीतमा आफ्नो स्वर खेलाउनु भयो भने म मात्र होइन, सारा नेपाली श्रोता तपार्इंका फ्यान बन्नेछन्।’

सायद पेमालाको यही कुराले उनको मन छोयो। त्यसपछि उनको गायनको मोड एक सय अस्सी डिग्रीको कोणमा परिवर्तित भयो। उनले त्यसपछि गम्भीर प्रकृतिका गीत गाए। गोपालको सङ्गीतमा ईश्वर वल्लभले लेखेको गाएको ‘जीवनदेखि धेरै धेरै नै थाकेर’ बोलको गीतमा नारायणगोपालले जुन आरोहमा आलाप लिएका छन्, सङ्गीतज्ञ अम्बर गुरुङका चेला पिटर जे कार्थकको भनाइमा, यति हाइस्केलमा गाउने गायक अहिले पनि नेपाली गायनमा जन्मिएको छैन।

तर यसभन्दा अलि अघिकै कुरा गरौँ। नारायणगोपाल त्रिचन्द्र कलेजमा पढ्थे। त्यतिबेला उनलाई गायक भनेर कसैले खुट्ट्याएकै थिएन। कक्षाका साथीहरू भेला पारेर डेस्क ठटाउँदै हिन्दी गीत गाउँथे। रत्नशमशेर थापा पनि उनीसँग पढ्थे भने सङ्गीतकार नातिकाजी उनीहरूभन्दा एक कक्षा अघि थिए। रत्नशमशेर थापा त्यहीबेला मुक्तक र गीतलेखनमा सिद्धहस्त भइसकेका थिए। जब रत्नशमशेरसँग नारायणको सङ्गत बढ्यो, अनि उनले मौलिक गीतमा आफ्नो स्वर गुनगुनाउन थाले।

सुरुको चरण अर्थात् ०१८ सालतिर उनले पहिलोपल्ट सार्वजनिक रूपमा दुईवटा गीत गाएका थिए, त्रिचन्द्र कलेजका नयाँ विद्यार्थीहरुको स्वागतार्थ सिँहदरबारको प्रेक्षालयमा। त्यसबेला आजजस्तो प्रज्ञाभवन, नाचघरजस्ता प्रेक्षालयको कल्पनै थिएन। सिँहदरबार पुतली बगैँचामा एउटा हल थियो, जहाँ बेलाबेला नाट्यसम्राट बालकृष्ण समका नाटकहरू पनि मञ्चित हुन्थे। समको ‘अमरसिँह’ नाटक त्यस हलमा लामो समयसम्म चलेको थियो। तर, यो अलि अघिको कुरा हो।

हो, त्यही हलमा नारायणगोपालले पहिलोपटक आफ्नो गायन प्रस्तुत गरेका थिए। ‘स्वर्गकी रानी मायाकी खानी’ र ‘आँखाको भाखा आँखैले’ बोलका यी दुई गीत उनले सिँहदरबारको हलमा चार दिन लगातार गाए। गीतकार रत्नशमशेरले भनेका छन्, ‘ती चार दिन नारायणगोपालले प्रशंसैप्रशंसा मात्र पाए। उनले गाउँदा ‘वान्स मोर’ नभन्ने त दर्शकै हुँदैनथे ।’

ती गीतमा एकोर्डिएन बजाइदिने कलाकार थिए, सङ्गीतज्ञ नातिकाजी।

त्यसबेला आजजस्तो सवारी साधन सहज थिएनन्। शिक्षा मन्त्रालयले कताबाट बल्लबल्ल एउटा लरी (हिजोआजको ट्रकजस्तो) को व्यवस्था गरिदिएको थियो। लरी पनि कुन जमानाको हुँदो हो, त्यसलाई ‘स्टार्ट’ गर्न आठदस जना ज्यानदार मानिसले पछाडिबाट धक्का नै दिनु पथ्र्यो। अनि, यस्ता ज्यानदार मान्छेको खोजी भयो। यसका लागि एक्लै तयार भए खाइलाग्दा ज्यान भएका लोकगायक लालबहादुर खाती, जो पछि ’च्यानपुल्टुङ च्यानपुल्टुङ झ्याइँ गर्ने बाजा’ बोलको लोकगीत गाएर प्रसिद्ध भए। खातीले धकेलेपछि त्यो लरी स्टार्ट गरेर हाँक्ने ड्राइभर पनि ज्यानदार नै चाहिन्थ्यो। अलि खोज्दा एक जना अर्का ज्यानदार ड्राइभर भेटिए। ती चानचुने थिएनन्। ती थिए, ‘थाहावाद’ का प्रणेता रूपचन्द्र विष्ट।

गीतकार रत्नशमशेर, गायक नारायणगोपाल, सङ्गीतकार नातिकाजी आदि कलाकार र विद्यार्थीहरू रूपचन्द्र विष्टले हाँकेको त्यसै लरीमा चढेर सिँहदरबार पुग्थे, जहाँ नारायणगोपालले आफ्नो गलाको जादु छर्ने गर्थे।

रत्नशमशेर सम्झिन्छन्, ‘नारायण आफूले गाउने हरेक गीतमा नयाँपन खोज्थे।’

खासमा नारायणगोपाल पछि यही नयाँपनको खोजीमा दार्जिलिङतिर आकृष्ट भएका हुन्। तर रत्नशमशेरसँग सङ्गत हुन्जेल नारायणगोपाल कहिले लाहुरेका गीत लेख भन्थे, कहिले तन्नेरी र संस्कृतिका। नयाँनयाँ विषय र बान्कीका गीतमा उनको विशेष रूचि हुन्थ्यो। एक दिन रत्नशमशेरलाई नारायणगोपालले भने, ‘तिमी जस्तो गीत पनि लेख्न सक्छौ। अब मेरा लागि यस्तो गीत लेखिदेऊ, जुन गीतमा माया–प्रेम पनि होस् र संस्कृति पनि।’

उनको यही ‘फर्माइस’ पूरा गर्न रत्नशमशेरले लेखेको गीत थियो, ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा।’ र, पहिलोपल्ट नारायणगोपाललाई प्रसिद्धिको शिखरमा उभ्याउने गीत पनि यही हुनपुग्यो। पेमाला लामाको मन लोभ्याएको पनि यसैको गायकीले हो। पछि नारायणगोपालको सुरमाधुर्यको जादुगरीमा परेर पेमाला नारायणको प्रेममा चुर्लुम्म डुबिन् र २०२७ सालमा उनको र नारायणको विवाह नै भयो।

नारायणगोपाल पहिले पहिले प्रेमध्वज र माणिकरत्नले खोलेको ‘नवकला परिवार’ नामक संस्थाले आयोजना गर्ने कार्यक्रम र प्रेम–माणिकले गाउने कोठे गायनतिर तबला बजाएर साथ दिन्थे। २०१६ सालमा प्रेम–माणिकको सङ्गीत, अनि राममान तृषितको गीत ‘पन्छीको पङ्खमा धर्तीको याद दियो’ गाएर उनले रेडियो नेपालको स्वर परीक्षा उतीर्ण गरेका हुन्। उनी रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा २०२३ मा उत्कृष्ट सङ्गीतकार र २०२४ मा उत्कृष्ट गायक भएका थिए।

सबैलाई थाहा भएको कुरा हो, नारायणगोपाल आफ्नो चित्तले नखाएसम्म अरूले जति नै कर गरे पनि गति गाउँदैनथे। कति रचनाकारका गीत त तिनीहरुकै सामुन्ने च्यारच्यारी च्यातेर फालिदिएका थिए उनले। यसको अनुभव समीक्षा साप्ताहिकका सम्पादक विनोद दीक्षितलाई पनि छ।

नारायणगोपाल बरोबर समीक्षाको कार्यालय कालिकास्थान गइरहन्थे। मदनमणि दीक्षितसँग जत्तिकै उनका छोरा विनोद दीक्षितसँग पनि उनको गहिरो सङ्गत थियो। लामो चिनजान, सहृदयता थियो दुबैमा। एकअर्काप्रति समादार भाव राख्थे उनीहरू। यति लामो सङ्गत, मित्रता यी यावत् कुरालाई मनन् गरेर एक दिन विनोदले नारायणगोपाललाई एउटा गीत दिए र भने, ‘नारायणजी, मेरो यो एउटा गीत तपार्इंले गाइदिनु पर्‍यो।’

विनोदलाई लागेको थियो, यति प्रगाढ सम्बन्ध भइसकेपछि कसो एउटा गीत नगाइदेलान्!

तर नारायणगोपाल अर्कै माटोले जन्माएका प्रतिभा थिए। उनले सम्बन्ध र सङ्गीतलाई कहिल्यै मिसाएनन्। र, त्यस दिन पनि त्यस्तै भयो। नारायणगोपालले विनोदको गीतको पन्ना हातमा लिएर धेरैपटक माथिदेखि तलसम्म दोहोर्‍याई तेहर्‍याई पढेपछि त्यो गीत फेरि विनोदकै हातमा भद्रतापूर्वक राखिदिँदै भने, ‘विनोदजी, तपार्इंले गीत लेख्नु भन्दा पत्रकारिता नै गर्दा वेश हुन्छ।’

त्यसपछि विनोदले फेरि नारायणगोपाललाई गीत दिने साहस गरेनन्। तर कालीप्रसाद रिजालले नारायणगोपालले बारम्बार माग्दा च्यातिदिने हुन् कि भनी सूचना विभागमा छँदा दिएका ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैँ भयो’ बोलका दुई गीत लिएर गएपछि एकैचोटि रेकर्डका चक्का बोकेर आउँदा रिजाल आश्चर्यमा परेका थिए।

नारायणगोपालको पछिल्लो चरणमा गीतकार विश्वम्भर प्याकुर्‍यालसँग विशेष घनिष्टता थियो। नारायणगोपालले पहिलो ‘जगदम्बाश्री’ पुरस्कार पाएपछि ‘साहित्यसँग मिलेर सङ्गीतमा ठूलो क्रान्ति ल्याउनुर्छ’ भन्थे। नारायणगोपालको यही क्रान्ति गर्ने कालमा जोडिन पुगेका हुन् प्याकुर्‍याल। घरमा मीठो पाकेको दिन नारायणगोपाल प्याकुर्‍याललाई सम्झिहाल्थे।

प्रतिभा मुडी हुन्छ। यो स्वाभाविक कुरा हो। तर नारायणगोपाल चाहिनेभन्दा बढी नै मुडी थिए।

म्यूजिक नेपालले नारायणगोपालको ‘गीतियात्रा भाग १’ निकाल्ने तयारी गर्दै थियो। यो २०४० सालतिरको कुरा हुनुपर्छ। त्यस एल्बममा चाँदनी शाह (तत्कालीन रानी ऐश्वर्य) को एउटा गीत पनि राख्ने कुरा गरेछन्, सङ्गीतकार दीपक जङ्गमले। जङ्गम त्यसबेला सायद रत्न रेकर्डिङ् संस्थानका महाप्रबन्धक थिए। उनलाई दरबारमार्फत् यो प्रस्ताव आएको थियो। स्वाभाविक थियो, त्यसबेला यस्ता संस्थाहरूमा जागिर पाउन र जागिरलाई टिकाउन दरबारलाई रिझाउनु पहिलो अनिवार्यता हुन्थ्यो। अनि दीपक जङ्गमले नारायणगोपाललाई यसका लागि अनुरोध गरे। त्यसबेलासम्म तारादेवीले चाँदनी शाहका धेरै गीत गाइसकेकी थिइन्, नातिकाजीको सङ्गीतमा। ‘उकाली–ओरालीहरू’, ‘तिमीलाई हाँसेर विदा मात्र दिइसकेथेँ’ जस्ता गीतहरू लोकप्रियताको शिखरमा थिए।

तर नारायणगोपालले आफ्नो एउटा पनि गीत नगाएकाले रानीमा एक किसिमको ईर्ष्या पनि हुँदो हो। अनि उनले दरबारका सचिवमार्फत् एउटा गीत दीपक जङ्गमका हातमा पठाइदिइन्। पहिला त दीपक जङ्गमले यो काम त्यति अप्ठ्यारो होला भन्ने सोचेनन्। गीत राम्रै थियो, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा।’

गीत हात पर्नासाथ दीपक जङ्गमले धुन हालिहाले। र, एक दिन नारायणगोपालको मुड हेरेर गाइदिन प्रस्ताव राखे। नारायणगोपालले गीत मागे। दीपकले गीत दिए। विनोद दीक्षितको गीत पढेझैँ त्यो गीतलाई दुईचारपटक दोहार्‍याएर पढे नारायणगोपालले। अनि दीपक जङ्गमतिर फर्केर भने, ‘गीत महेन्द्र राजमार्गभन्दा लामो छ। तपाईंले कस्तो ट्युन गर्नुभयो, सुनौँ त!’

दीपक जङ्गमले आफूले गरेको धुन सुनाए। धुन सुनेर नारायणगोपालका छोटा जुँगा फुरफुराए, तर मुहारमा कुनै खुसीका धर्सा टल्किएनन्। नारायणगोपालले यतिमात्र भनेछन्, ‘अहिले यसलाई राखिराख्नुस्, पछि विचार गरौँला।’

दीपक जङ्गमले यसको अर्थ ‘नारायणगोपालले गीत नगाउने भए’ भनेर बुझे। उनी साँच्चै अप्ठ्यारोमा परे। धेरै खुसामत गरे। ‘अर्को धुन बनाउँछु’ पनि भने। नारायण गोपालले स्वीकृतिमा टाउको मात्र हल्लाइदिए। फेरि रातभरि लगाएर अर्को धुन भरे र भोलिपल्ट फेरि सुनाए। तर नारायणगोपालको टाउको स्वीकृतिमा हल्लिएन। दीपकले भने, ‘म फेरि प्रयास गर्छु।’

तर त्यो प्रयास पनि फेल खायो। ‘दीपक जङ्गमलाई यो गीत जसरी पनि उनको स्वरमा रेकर्ड गराउनुपर्ने बाध्यता छ’ भन्ने बुझे नारायणगोपालले। आखिर उनी पनि संवेदनशील मानिस नै थिए। अनि ‘म पनि एकपटक प्रयास गरिहेर्छु’ भन्दै गीत बोकेर नारायणगोपाल आफैँ धुन हाल्न तम्सिए। तर उनले पनि त्यस गीतमा उपयुक्त धुन खार्न सकेनन्।

‘होस्, दीपकजी अब हामी यसमा नअलमलिऔँ, यसलाई पछि गर्दै गरौँला। अरू गीतको रेकर्ड सुरु गरौँ’ उनले भने।

परेन त फसाद!

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ गीतले उनको जिन्दगीमा फरक पार्ने अवस्था आइसकेको थियो। तर दीपक जङ्गम पनि त्यसै हार खाने सङ्गीतकार कहाँ थिए र? दिनैपिच्छे बेग्लाबेग्लै धुन बनाउँदै, नारायणगोपाललाई सुनाउँदै गए, नारायणगोपालले पनि ‘नाइँ’ भन्दै गए। किनभने, त्यसबेला दरबार र नारायणगोपालको सम्बन्ध नराम्रो थिएन। तर दीपक जङ्गमलाई दरबारका तत्कालीन सचिव ज्ञानेन्द्रबहादुर राजभण्डारीले ‘दरबारको आदेश छ’ भन्दै ‘नारायणगोपालको स्वरमा गाउन लगाउनु’ भनेर दिएका थिए। दरबारको आदेश, उनले जसरी पनि यो गीत नारायणगोपालको स्वरमा रेकर्ड गराउनैपर्ने थियो।

यसरी २७ वटा धुन बनाइसक्दा पनि नारायणगोपाल नचटपटाएपछि २८ औँ धुनमा दीपकले नारायणगोपालकी पत्नी पेमालालाई गुहार्न पुगे। पेमालाले त्यो गीतका २७ र २८ नम्बरका धुन सुनेर स्वीकृतिमा टाउको हल्लाइन्। त्यसको भोलिपल्ट नारायणगोपाल पनि सहमत भए। बल्लबल्ल उनको स्वरमा यो गीत दुईवटा धुनमा रेकर्ड भयो।

‘एउटा मान्छेको माया’ को अपार सफलतापछि दरबार फेरि जुर्मुरायो, नारायणगोपालको स्वरमा अर्को गीत रेकर्ड गराउन। ‘जीवनै पनि बदलिन्छ’ भन्ने बोलको गीत दीपकको हातमा परेपछि उनले नारायणगोपाललाई फेरि प्रस्ताव राखे। तर नारायणगोपालले पनि दीपकसँग एउटा प्रस्ताव राखे, ‘म गीत त गाउँला, तर पहिला चाँदनी शाहसँग भेट्ने समय मिलाइदेऊ।’

नारायणगोपालको आशय थियो, रानीलाई भेटेर नेपाली सङ्गीतको विकासका लागि केही गरिमाग्ने। दीपक जङ्गमले सचिव राजभण्डारीलाई भेटेर यो कुरा बताएपछि सचिवले नारायणगोपाललाई आफ्नो घरमै पठाइदिन भनेछन्। तर दुई दिनपछि सचिवलाई भेटेर फर्केका नारायणगोपाल आक्रोशित मुडमा देखिए। दीपक जङ्गमपनि नारायणगोपालको रातोपीरो अनुहार हेरेर थर्कमान भए। कहाँ के तलबितल पर्‍यो? दीपक जङ्गमले सशङ्कित् भएर नारायणगोपाललाई मलिन आवाजमा सोधेछन्, ‘के भयो दाइ? किन आज तपाईं अलि रिसाएजस्तो लागिरहेछ।’

नारायणगोपालले दाह्रा किट्दै दीपकतिर फर्केर कुर्लिएछन्, ‘त्यो सचिवले भनेको, चाँदनी शाह भन्ने गीतकारले लोग्ने मान्छेलाई भेट्दिनन् रे! अनि, म लोग्ने मान्छेले तिनको गीत किन गाउने?’

उनको यस्तो अडानका कारण चाँदनी शाहको गीत नारायणगोपालको स्वरमा त्यसपछि कहिल्यै रेकर्ड भएन।

नारायणगोपालको रक्सी र गाँजामा विशेष लत थियो। यो प्रायः सबैलाई थाहा भएको कुरा हो। तर उनी दुस्साहसी पनि थिए भन्ने कुरा एकपटक पिटर जे कार्थकले सुनाएका थिए।

तीसको दशकतिरको कुरा हो, असन मासाङगल्लीमा गोपाल साहूको भट्टी प्रसिद्ध थियो। त्यहाँ तुलसीनाथ ढुङ्गेल, उत्तम नेपाली, रवि शाह, भीमवरसिंह थापा, नारायणगोपाल आदि साँझ ढल्केपछि मदिरापान गर्न पुग्थे। मूल थलो किलागल भएपनि नारायणगोपाल त्यसबेला नरसिँह क्याम्पमा बस्थे। तर किलागल र भेडासिङबीच कटुचा चलेको रहेछ– उताको मानिस यता नआउने, यताको मानिस उता नजाने। एक किसिमले पानी बाराबारको स्थिति रहेछ। त्यस साँझ नारायणगोपाल र पिटर गोपाल साहूको पसलमा सुरापान गरेर खुट्टा लर्बराउँदै बाहिर निस्किँदा नारायणगोपालको कानमा सेतो मच्छिन्द्रनाथको भजनमण्डलीबाट गुञ्जेको भजनको आवाज थुरिन पुगेछ। अनि कार्थकलाई सँगै लिएर नारायणगोपाल त्यहाँ पुगेछन्।

अलि अग्लो मचानमा भजनेहरू भजन गाइरहेका थिए। तल हिप्पीहरूले खाएको गाँजाको धूँवा कुइरीमण्डल भएर उडिरहेको थियो। नारायणगोपाल पनि एकजना हिप्पीको हातबाट चिलिम लिएर आगो बल्ने गरी स्वाँट्स्वाँट् चार–पाँच सर्को गाँजा ताने र जुत्ता फुकालेर मचानमा चढे। अनि गाइरहेको मानिसको हातबाट हार्मोनियम आफूतिर तानेर लगालग पाँच–छ वटा भजन यति सुमधुर स्वरमा गाए कि, त्यहाँ बस्ने हिप्पीहरू मात्र होइन, अरू भजने र श्रोताहरू पनि मन्त्रमुग्ध भए।

त्यसपछि नारायणगोपाल फेरि मचानबाट ओर्लेर जुत्ता लगाए, कार्थकलाई बाईबाई गर्दै नर्सिङ क्याम्पतिर लागे।

त्यो राति त केही भएन। तर भोलि टोलमा आगो बल्यो। ‘दुस्मन टोलको मानिसलाई यहाँ कसले पस्न दियो?’ भनेर ठूलै कोलाहल भएछ। यसको चेपारोमा परे कार्थक। उनको ससुराली टोल, उनैले नारायणगोपाललाई त्यहाँ ल्याएको भन्ने थाहा पाएपछि उनलाई पनि छ महिना प्रवेश निधेष गरियो। नारायणगोपाल यस्ता दुस्साहसी र सनकी थिए।

उनको सनकीपनको अर्को उदाहरण सांस्कृतिक संस्थानमा पनि घट्यो। उनी २०३६ देखि २०४० सम्म सांस्कृतिक संस्थानको महाप्रवन्धक थिए। त्यहाँ जानासाथ करारसेवाका सारा कर्मचारी–कलाकारको पजनी गरेपछि उनी विवादमा परे। आफ्नै गुरु माणिकरत्न र तारादेवीसमेतलाई छोडेनन्। त्यसपछि तारादेवीसँग उनको जीवनभर बोलचाल भएन।

उनको यस्तो मुड र सनक आफ्नै निकटका मित्रमाथि पनि प्रयोग हुन्थ्यो।

पेमालासँग विवाह गरेपछि एकपटक पिता आशागोपाल गुरुवाचार्यले घरमा पस्न नदिँदा पोखरामा बोलाएर आश्रय दिने कवि भूपी शेरचनमाथि पनि नारायणगोपालको यो मुड प्रयोग हुनपुग्यो। नारायणगोपाल त्यतिबेला पश्चिमी साङ्गितिक शैली ‘ब्लुज’ माथि काम गरिरहेका थिए। र, कवि हरिभक्त कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको गीतलाई उनले ‘ब्लुज’ को ढाँचामा ढालेका थिए। यो नारायणगोपालले गाएका अघिल्ला गीतहरूभन्दा नितान्त परक शैलीको सङ्गीत थियो। पेमालालाई मन परेपछि उनले यो गीत भूपीलाई सुनाए। नारायणगोपाल पत्नी पेमलालाई रिसिभर समाउन लगाएर टेलिफोनबाटै भूपीलाई नयाँ धुन सुनाउँथे। त्यसदिन पनि पेमालाले टेलिफोनको रिसिभर समाइन् र नारायणगोपालले हार्मोनियम बजाउँदै भूपीलाई यो गीत सुनाए।

तर भूपीले लय मन पराएनन्। अर्को लय हाल्न सल्लाह दिए। तर उनले भूपीको सल्लाह पनि सुनेनन्। ‘नारायणगोपाल यस मामलामा मुडी नै हुनुहुन्थ्यो’, नारायणगोपालको मुडबारे पेमालाले मसँग भनेकी थिइन्, ‘तर उहाँले त्यही लयकै गीत रेकर्ड गर्नुभयो, भूपी दाइको कुरा पनि सुन्नु भएन।’

र, अन्त्यमा
नारायणगोपाललाई स्वरसम्राटको उपाधि कसले दियो? यसमा धेरैले आफ्नो नाम दावी गर्ने गरेका छन्। तर पहिलोपल्ट नारायणगोपाललाई स्वरसम्राटको उपाधि नारायणगोपालका अनन्य मित्र गीतकार नगेन्द्र थापाले दिएका थिए।

नाराणगोपाल पेमालासित लगनगाँठो कसेर २०२७ सालमा दार्जिलिङबाट पोखरा गएपछि थापाले ‘धूपी’ को भदौ, २०२७ को अङ्कमा ‘नेपालका स्वरसम्राट’ भनेर उल्लेख गरेका थिए।

– नेपालखबरबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...