ओखलढुंगा । चिसंखुगढी गाउँपालिका ५ पाखेको श्रीकुश्माण्ड आधारभूत विद्यालयमा तीन वर्षदेखि त्रिपाल र बाँसको टहरामै पढाइ हुँदै आएको छ । ०७२ को भूकम्पमा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरू टहरामै पढ्न बाध्य भएका हुन् ।
विद्यालय पुनर्निर्माणका लागि बजेट प्राप्त भए पनि काम ढिलो हुँदा भूकम्पपछिको चौथो जाडोमा समेत विद्यार्थी टहरामै पढ्न बाध्य छन् । ‘घाम लागेका बेला बाहिर राखेर पढाउँछौँ’ विद्यालयकी प्रधानाध्यापक इन्दिरा भट्टराईले भनिन्, ‘अब एक डेढ महिनामा चाहिँ नयाँ भवन बन्ला कि भन्ने आशा लागेको छ ।’
भवन निर्माणका लागि ३० लाख ५७ हजार बजेट प्राप्त भएको छ । फलामको ट्रस जोडेर भूकम्प प्रतिरोधी बनाउने तयारीसमेत भइसकेको छ । दुर्गम ठाउँ सामान ढुवानीको समस्याका कारण भवन निर्माण गर्न ढिलो भएको भट्टराईले बताइन् । टहरामा पढाई सञ्चालन गर्दा सबैभन्दा बढी समस्या साना कक्षाका केटाकेटीलाई हुने गर्छ ।