काठमाडौं । विशेष अदातलले घुससहित पक्राउ परेका औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई सफाइ दिएको छ।
शुक्रबार विशेष अदातलका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले फार्मेसी निरीक्षक पुष्पराना क्षेत्रीलाई सफाइ दिएको हो।
नेपालगन्जको एक रेस्टुरेन्टबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले क्षेत्रीलाई २०७४ फागुन १३ गते पक्राउ गरी १४ गते मुद्दा दायर गरेको थियो।
राति रेस्टुरेन्टमा बेलाएर घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए। क्षेत्रीबाट २८ हजार नगदसमेत प्रहरीले बरामद गरेको थियो। मेडिकलको अनुगमन, निरीक्षण, कारबाही सिफारिस गर्ने लगायतको जिम्मेवारी निर्वाह गर्दा उनले घुस लिएको अख्तियारको दाबी थियो।
पक्राउ परेका क्षेत्रीले भने आफूलाई व्यक्तिगत रिसिबीका आधारमा फसाउन खोजिएको बताउँदै आएका थिए। अदालतमा समेत उनले सोही बयान दिएका थिए।
– स्वास्थ्यखबरबाट ।