23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

तरकारीको नर्सरी व्यवस्थापन तथा नर्सरी ब्याड बनाउने प्रविधि

काली प्रसाद पाण्डे

परिचय ः

कृषकहरुले तरकारी उपभोग गर्नको लागि तथा व्यावशायिक रुपमा आम्दानी गर्नको लागि तरकारी खेती गर्दै आएका छन् । कतिपय जिल्लाहरुको ठाउँ ठाउँमा तरकारी खेती गर्न नजानेर आम्दानी गर्न त परै जाओस, तरकारी खान नपाएर जीवन विताएर वसेका हुन्छन् । यस्तो ठाउँहरुमा तरकारी उत्पादन गराउन सकेमा कृषकहरुको स्वास्थमा सुधार हँदै जाने र आम्दानीको वाटो खुल्दै जाने हुन्छ । कतिपय तरकारीहरु सिधै वीउ रोपेर तरकारी उतपादन गरिन्छ भने कतिपय तरकारीहरुको वीउ नर्सरी व्याडमा राखी वेर्ना तयार पारेर जग्गामा सारीकन तरकारी उत्पादन गरिन्छ । यसरी सानो जग्गामा तरकारीको वीउ रोपेर स्वस्थ वेर्ना उमार्ने तरिकालाई नर्सरी भनिन्छ । माथि उल्लेखित गरे अनुसार तरकारी २ तरिकाबाट गर्न सकिन्छ । खेतवारीमा सिधै वीउ रोपेर र नर्सरीमा वेर्ना उत्पादन गरेर । सिधै वीउ रोपेर वा छर्ने तरकारीहरुमा सिमी, मुला, केराउ, सलगम, चम्सुर, पालुङ्गो, वोडी, स्कुस आदि पर्दछ । त्यस्तै गरी नर्सरी राखी वेर्ना तयार पार्ने तरकारीका वीउहरु गोलभेडा, खुर्सानी, भन्टा, भेडेखुर्सानी, काउली, वन्दा, व्रोकाउली, ग्याँठकोवी, रायो, स्वीसचार्ड, जिरीको साग, प्याज, कुरिलो, काक्रो, जुकुनी, घिरौला, करेला, लौका आदि पर्दछन् । नर्सरीमा वेर्ना उत्पादन गर्दा मेहनत वढी गर्नु पर्ने हुन्छ, सोही अनुसार वेर्ना स्वस्थ भई उत्पादन बढी दिन्छ ।

नर्सरीमा वेर्ना उत्पादन गर्नुको फाईदाहरु ः

१. वीउको राम्रो सदुपयोग हुन्छ ।
२. हेरचाह र सुरक्षा गर्न सजिलो हुन्छ ।
३. जग्गाको पुरा सदुपयोग हुन्छ ।
४. छिटो र सजिलोसंग वेर्ना हुर्काउन सकिन्छ ।
५. प्रतिकूल मौसममा वेर्ना तयार पार्न सकिन्छ ।

तरकारी नर्सरी व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने कुराहरु ः

१. ठाउँको छनौट ः
नर्सरीको लागि ठाउँको छनौट गर्दा पहारिलो ठाउँ, पानी नजम्ने ठाउँ, रुख, पर्खाल, घर, डाँडाले घाम नछेल्ने ठाउँ, पानीको सुविधा नजिक भएको, हेरचाह गर्न सजिलो, हावा खेल्ने ठाउँ हुनु पर्छ ।

२. माटोको तयारील ः
माटोमा हावाको संचार वढाउन खोलाबाट ल्याएको वलौटे वा जंगलको माटो वा कहिल्यै खेती नगरेको जग्गाको माटो र राम्रोसंग तयार भएको वुर्वुराउदो मल वरावरी मिसाएर व्याडको लागि माटो तयार पार्न सकिन्छ ।

३. माटोको उपचार ः
माटोमा हुने कीरा तथा रोगले वेर्नाहरुलाई नास गर्ने भएको हुनाले माटो उपचार गर्न अति आवश्यक हुन्छ । माटो उपचार रासायनिक विषादी, जैविक विषादी र सोलाराईजेशन मध्ये एक तरिकाले गर्न सकिन्छ । सोलाराईजेशन तरिकाबाट वातावरण तथा पर्यावरणलाई असर पार्दैन ।

४. चिस्यान व्यवस्थापन ः
नर्सरीमा चिस्यानको मात्रा कम भयो भने जमिन कडा भएर जान्छ, जसले गर्दा वीउको भ्रण सुकेर जान्छ । त्यास्तै गरी चिस्यान कम भएमा माटोमा हावा खेल्न सक्दैन र माटोको तापक्रम वढेर वीउ कहिन्छ । त्यसकारण व्याडमा चिस्याान ठिक्क मात्रामा मिलाउन आवश्यक हुन्छ ।

५. छाना दिने ः
व्याडमा भएको वेर्नाहरुलाई वा वीउलाई हावा, हुरी, वतास, असीना, तुषारो, शित आदिबाट वचाउनको लागि वीउ राखेको दिन ५ फिट अग्लो खर, पराल, स्याउलाको छाना हाली दिने । यदि ५ फिट भन्दा होचो भयो भने सूर्यको प्रकाश नर्सरी व्याडमा पर्दैन र वेर्ना सूर्यको किरणको कमीले गर्दा लुलो नसर्ने हुन्छ ।

६. छापो दिने र हटाउने ः
चराचुरुङ्गीबाट वीउ वचाउन र माटोको चिस्यान कायम राख्नको लागि छापो दिनु पर्छ । वीउ राखेको ३, ४ दिनमा टुसा आएपछि वा ५० प्रतिशत भन्दा वढी वेर्ना उम्रे पछि छापो हटाई दिनु पर्छ । छापो हटाउन ढिलो गरेमा विरुवा वाङ्गो टिङ्गो हुन्छ ।

७. वेर्ना ढल्ने रोग व्यवस्थापन ः
यो रोग खासगरी लाग्नुको कारण बढी वर्षा भएर, बढी तापक्रम वढेर, बढी आद्र्रता भएर, वेर्नाको घनत्व धेरै भएर, माटोमा चिस्यान बढी चिस्यान भएर हो । जसले गर्दा वीउ उम्रन नसकी कुहिन्छ वा उम्रेर पनि फेद कुहिने हुन्छ ।

वचाउने उपायहरु ः
० वीउ रोप्नु भन्दा अगाडी वीउको उपचार गर्ने ।
० वीउ ज्यादा वाक्लो नछर्ने ।
० नर्सरी सुक्न लाग्यो भने मात्र सिंचाई गर्ने ।
० संभव भएसम्म नर्सरीको लागि माटो सोलाराईजेशन गर्ने । यदि गर्न सकिएन भने सुकेको स्याउलाहरु १ फिट अग्लो व्याडमा विछ्याई आगो लगाउने ।

नर्सरी व्याड राख्ने प्रविधिहरु ः

वेर्ना तयार गर्नको लागि जाडो र गर्मी मौसमलाई ख्याल गरेर छुट्टाछुट्टै तरिकाबाट नर्सरी राख्न सकिन्छ । जसले गर्दा मौसमी तथा वेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ । ति यस प्रकारका छन् ।
१. खुल्ला नर्सरी व्याड
२. गुमोज नर्सरी व्याड (तल्लो पहाडको लागि)
३. गुमोज सहितको तातो नर्सरी व्याड (उच्च पहाडको लागि)

१. खुल्ला नर्सरी व्याड ः
यस प्रविधिबाट खुर्सानी र काउली समुहको तरकारीको नर्सरी तयार पार्न सकिन्छ । जस्तै ः काउली, वन्दा, व्रोकउली, रायो, स्विसचार्ड, खुर्सानी, भेडेखुर्सानी, भण्टा, गोलभेडा आदि ।

नर्सरी तयार पार्ने तरिका ः

क) सर्वप्रथम् माथि उल्लेखित गरे अनुसार ठाउँको छनौट गर्ने ।
ख) ठाउँको छनौट गरी सकिए पछि माटो तयार गर्ने । माटो सकेसम्म दोमट तथा कहिल्यै खेती नगरेको ठाउँ भए राम्रो हुन्छ । त्यस जग्गामा राम्रोसंग खनजोत गरेर ढुङ्गा, छेस्का, झारपात राम्रोसंग केलाउने र माटोलाई वुर्वाराउदो मसिनो पार्ने ।
ग) व्याड वनाउदा १ मिटर चौडाई १५ से.मी. उचाई र लाम्वाई आवश्यक्ता अनुसार वनाउनु पर्दछ ।
घ) यसरी नर्सरी व्याड वनाएपछि राम्रोसंग पाकेको वुर्वाराउँदो गोठेमल वा कम्पोष्ट मल वा घुरेन खाडलको मल राम्रोसंग केलाएको प्रति वर्ग मिटरमा ५ के जी को दरले माटोसंग राम्ररी मिसाएर मोल्ने ।
ङ) यसरी माटो र मल नर्सरी व्याडमा मोलेर राम्रोसंग सम्याएपछि वीउ खासल्नको लागि चुच्चे कुटो वा छेस्काले ४ औंलको फरकमा धर्का कोर्ने, धर्को कोर्दा २ औंल वा २–३ से.मी। को गहिराईमा कोर्ने ।
च) वीउ खसाल्नु भन्दा अगाडी रासायनिक विषादी वा जैविक विषादी वा ई एम बाट वीउ उपचार गर्ने । यसरी वीउ उपचार गरेको केही समय पछि धर्सो तानेको ठाउँमा २ औंलको फरकमा वीउ खसाल्ने । वीउ खसाल्नको लागि वीउमा माटो, वालुवा, खरानी, सुकेको धुलो मल डवल मिसाएर वीउ छर्न सकिन्छ । यसो छर्दा वीउ एकै ठाउँमा खस्दैन ।
छ) वीउ खसाली सकेपछि वीउलाई माटोले छोप्ने ।
ज) छोपेको वीउलाई पशुपंक्षीबाट जोगाउन र माटोमा चिस्यानको सन्तुलन मिलाउन कीरा भगाउने खालको रुखविरुवाको हरियो पात वा खर वा परालको छापो हाली दिने ।
झ) नर्सरीमा हल्का सिंचाई गरी दिने ।
ञ) हावा, हुरी, वतास, घामपानी, असिना, तुषारो, शितबाट जोगाउन ५ फिटअग्लो छाना हालि दिने ।
ट) ३, ४ दिन पछि राम्रोसंग टुसा पलाई सकेपछि छापो हटाइ दिने ।
ठ) वेलावेलामा राम्रो हेरचाह गर्ने ।

२. गुमोज नर्र्सरी व्याड (तल्लो पहाडको लागि) ः

यस्तो किसिमको नर्सरी अक्सरगरी समय भन्दा केही अगाडी तरकारी उत्पादन गर्न वा जाडो समयमा चाँडै वेर्ना तयार पार्न गुमोज नर्सरी प्रविधि अप्नाईन्छ । साह्रै चिसो हुने ठाउँ छ भने तातो नर्सरी अप्नाउन सकिन्छ । यस नर्सरीमा गर्मी मौसममा हुने लहरे वाली जातका वीउ प्लाष्टिक थैला तथा पातको थैलामा वीउ रोपेर वेर्ना उत्पादन गर्न सकिन्छ । जस्तै ः काक्रो, जुकुनी, करेला, घिरौला, लौका, चिचिण्डो अदि पर्दछन् । साह्रै चिसो हुने ठाउँमा अन्य तरकारीको वेर्ना तयार गर्नु परे गुमोज भित्र १ नम्वरमा जस्तै व्याड तयार पारेर गर्न सकिन्छ ।

गुमोज नर्सरी तयार पार्ने तरिका ः

क) माथि उल्लेखित गरे अनुसार ठाउँको छनौट गर्ने ।
ख) ठाउँको छनौट गरी सकेपछि माटोको तयार गर्ने । माटो चाही वनको माटो वा कहिल्यै खेती नगरेको जग्गाको माटो भए राम्रो हुन्छ ।
ग) आवश्यक सामग्रीहरु जस्तै बाँस वा चोया, ४०० गेजको प्लाष्टिक, प्लाष्टिक तथा पातको थैलो, डोरी, काट्ने र खत्रे औजार, विषादी, वीउ, मल जुटाउने ।
घ) मल, माटो र वालुवा माटोको अवस्था हेरीकन अनुपात मिलाएर एकै ठाउँमा मिसाएर माुल्ने । जस्तै ः मलिलो माटो २ भाग
पाकेको मल २ भाग
वालुवा १ भाग (चिम्टाईलो माटो भएमा)
ङ) यसरी माटो तयार भएकोलाई प्लाष्टिक थैलो वा पातको थैलोमा भर्ने । भर्दा खेरी माटो खुकुलो हुनु हुदैन, केही कसिएको हुनु पर्छ । माटो भर्दा थैलो ३ से.मी. जति खाली हुनु पर्छ ।
च) माटो भरेको थैलो ठाडो पारी मिलाएर राख्नको लागि १ मिटर चौडाई, ६ ईन्च गहिराई र आवश्यक्ता अनुसारको लम्वाईको चारकुना मिलाएर सम्म परेको खाल्डो तयार पार्ने ।
छ) त्यस खाल्डोमा माटो भरेको थैलो सिधा ठाडो हुने गरी लाईन मिलाएर राख्ने र त्यसमा नढल्ने गरी बाँसको भाटा तेर्साई दिने र फेरी एवंरितले थैलो खाल्डोमा भर्दै जाने ।
ज) यसरी थैलो राखि सकेपछि १,१ वटा थैलोमा २, २ वटा वीउ नखपिटिने गरी राख्ने र पछि माटोले थैलाको मुखसम्म पुर्ने ।
झ) अव वीउलाई तातो वनाउनको लागि नर्सरीमा चन्द्राकारको गोलो १ मिटर अग्लो र चौडाई पट्टी ६, ६ ईन्च छोडेर बाँसको भाटा गाड्ने । गाड्दा खेरी १, १ हातको फरकमा गाड्ने र ३ ठाउँमा तेर्सो भाटा हली दिने ।
ञ) त्यसपछि एकसरो भिज्ने गरी सिंचाई गरी दिने । सिंचाई गरी सकेपछि माथिबाट पुरै प्लाष्टिकले ढाकी दिने र जमिनमा चारै तिरबाट माटोले प्लाष्टिकलाई ढाकी दिने । यसरी ढाक्दा कतैबाट हावा छिर्न पाउदैन ।
ट) वेर्नाको पात २,३ वटा भएपछि अलीअली प्लाष्टिक खोल्दै वाहिरको चिसो हावा खुवाउने । तर वादल लागेको वेला र साँझ परेपछि पहिलाको जस्तै हावा नपस्ने गरी प्लाष्टिकलाई माटोले छोप्ने । घाम लागेको वेलामा पानीको आवश्यक्ता परे सिंचाई गरी दिने ।
ठ) वेर्ना रोप्नु भन्दा २ दिन अगाडी पुरै दिन रात प्लाष्टिक हटाई दिने, विरुवा केही भएन भने जग्गामा वेर्ना सार्दा राम्रो हुन्छ ।

३. गुमोज सहितको तातो नर्सरी व्याड (उच्च पहाडको लागि) ः

उच्च पहाड तिर वढी जाडो हुने र लेक पर्ने भएको हुनाले वीउ सजिलैसंग उम्रन नसक्ने र उम्रे पनि साह्रै ढिलो तथा समय धेरै लाग्छ । यस्तो ठाउँमा गुमोज भित्र थैलोमा माटो भरेर वा सिधै जमिनमा नर्सरी तयार पारी तरकारीको वेर्ना उमार्न सकिन्छ । जमिनमा तातो व्याड वनाउने प्रविधि वाहेक अन्य १ र २ नम्वरमा उल्लेख गरे जस्तै गर्ने ।

तातो व्याड वनाउने तरिका ः

क) माथि उल्लेखित गरे अनुसार ठाउँको छनौट गर्ने ।
ख) २ हात चौडाई, १ हात गहिराई र आवश्यक्ता अनुसारको लम्वाई भएको खाडल तयार पार्ने ।
ग) खाडलको तल्लो भागमा पराल, नल वा सोतर चार औंल बाक्लो गरी हाल्नु पर्छ ।
घ) यस माथि कम्तिमा चार औंल जति काँचो गोवर राखेर पानीले भिजाउनु पछ ।
ङ) गोवर माथि फेरी पराल, नल वा सोतरको तह चार औंल बाक्लो गरी राख्नु पर्छ ।
च) यस मथि चार औंल खाडलको माटो राख्नु पर्छ ।
छ) अन्तिममा चार औंल मलिलो माटो (नर्सरी माटो) मसिनो पारेर हाल्नु पर्दछ ।
ज) सिधै यस माटोमा वीउ रोपिन्छ भने मल, वीउ छर्ने र अन्य हेरचाह १ नम्वरमा उल्लेख गरे जस्तै गर्ने । यसमा पनि वेर्ना छिटो उमार्न गुमोज वनाउनु पर्छ ।
झ) लहरे वालीको वेर्ना उमार्न २ नम्वरमा उल्लेख गरे जस्तै गरेर तातो व्याडमा राख्ने र गुमोज वनाई दिने ।

नर्सरीमा विशेष ध्यान दिनु पर्ने कुराहरु ः

१. नर्सरीमा आवश्यक चिस्यान कायम राख्नु पर्छ । जाडो महिनामा हरेक दिन वा केही दिन विताएर हजारीले दिनको १०–१२ बजे एकनाससंग पानी दिनु पर्छ । त्यस्तै गर्मी महिनामा पानी दिने काम बेलुकीपख गर्नु राम्रो हुन्छ ।

२. गुमोज भित्र वेर्ना उम्रेको ८–१० दिन पछि घाम लागेको वेलामा जमिनबाट अलिअलि प्लाष्टिक खोल्दै चिसो हावामा हुर्कन वानी पार्ने, तर वादल लागेको वेला र साँझ परेपछि प्लाष्किले ढाकेर माटोले पुर्ने । पछि वेर्ना सार्नु भन्दा २ दिन अगाडी चौविसै घण्टा प्लाष्टिक खोली दिने, यसोगर्दा वेर्ना कडा हुन्छ र रोप्दा सजिलैसँग हुर्किन्छ ।

३. वीउ छरेपछि छिटो वा अघि उम्रिएको वेर्नाले वढी उत्पादन दिने भएकोले व्याडमा पटकपटक गरी पछि वा ढिलो उम्रिएका वेर्नालाई उखेलेर हटाउनु पर्छ । यस्ता वेर्नाले राम्रो उत्पादन दिदैन ।

४. वेर्ना २ पाते भएपछि वा वेर्ना उम्रेको १०–१२ दिनमा गाई भैंसीको गहुात १ भागमा ४ भाग पानी मिसाएर छरेमा विरुवा हर्लक्क वढ्छ ।

५. वेर्नालाई रोग सहन सक्ने शक्ति प्रदान गर्न पेन्सीबाबा १ मिलि प्रति ५ लिटर पानीका दरले छर्नुपर्छ र ई एम २ मिलि प्रति लिटर पानीका दरले १० दिनको फरकमा वेर्ना र माटो भिज्ने गरी छर्नु पर्छ ।

६. यदी कीराले दुःख दिन थाल्यो भने सूर्ती, वकाईनो, निम, तितेपाती, असुरो, सिस्नु मध्ये जे भेटाउँछ त्यसलाई थिचेर र पानीमा २४ घण्टासम्म भिजाएर त्यसको रससंग अलिकति सावुन मिसाई छर्न सकिन्छ । साथै गाईवस्तुको गहुँत वा जैविक मल पाए प्रयोग गर्न सकिन्छ । वेर्नालाई वाहिर लगाएको वालीलाई भन्दा पातलो वनाएर छर्नु पर्छ ।

७. वेर्ना बाक्लो छ भने छाँट्नु पर्छ नत्र भने वेर्ना कुहिने वढी सम्भावना हुन्छ ।

८. वेर्ना प्राय ४–६ हप्तामा सार्न तयार हुन्छ तर अगौटे जातका काउली समुहका ३ हप्ते वेर्ना सार्न उपयुक्त हुन्छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आलुको बियाँबाट आलु खेती प्रबिधि

– कालीप्रसाद पाण्डे   आलु एक तरकारीको रुपमा लीईने बाली हो । यसमा पाईने पौष्टीकको ...

Translate »
%d bloggers like this: