काठमाडौँ । दिनहुँ मानिसहरु श्रमका लागि विदेशिने क्रममा भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान, निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम असुल्ने गरेको भन्ने कतार जाने श्रमिकहरुको गुनासो रहेको छ ।
यस्ता प्रवृत्ति रोक्न कतार सरकारले आफ्नै म्यानपावर कम्पनी खोलेको छ । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा ५८ मिलियन रियाल पूँजी रहेको वाजा कम्पनी सञ्चालन गरिएको छ । कतारी नागरिकको सेयर मात्र रहने यो कम्पनीमा नियन्त्रण र व्यवस्थापन सरकारकै हुन्छ । कतिपय म्यानपावरले मागपत्र हात पार्न उल्टै कतारी कम्पनीका मानव संसाधन विभाग प्रमुखलाई कमिसन बुझाउने गरेका छन् । नेपाली म्यानपावरले प्रतिकामदार एक हजार रियाल सम्म दिन्छन् ।
कतारमा कार्यरत नेपालीसहित आप्रवासी श्रमिक ‘सप्लाई’ कम्पनीबाट पीडित छन् । कतारी नागरिकका नाममा कम्पनी दर्ता भए पनि यसका मुख्य सञ्चालक भारतीय, बंगाली, इजिप्टेली, पाकिस्तानी र नेपाली छन् । पछिल्लो समय झन्डै २ सयभन्दा बढी नेपालीका आफ्नै कम्पनी छन् । तिनमा २० देखि १५ सयसम्म श्रमिक छन् ।
वाजाले स्रोत देशमा पनि शाखा कार्यालय राख्ने छ । कतारले भिसा प्रक्रिया सहज बनाउन प्रमुख ९ देशमा भिसा सेन्टर खोल्ने निर्णय गरेको छ । श्रीलंका र बंगलादेशमा सञ्चालनमा आइसकेका छन् । नेपालमा कार्यालय तयारी अवस्थामा छ । श्रम मन्त्रालय यो विषय द्विपक्षीय श्रम सम्झौतामा समेटिएपछि मात्र कतारी भिसा सेन्टर सञ्चालन गर्न दिने पक्षमा छ ।
– कान्तिपुरबाट ।
