परिचय
परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात असार देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी वन्दा खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने वन्दा मौसमि बन्दा हो ।
वीउदर– १ रोपनी जग्गाको लागि प्राईड अफ ईन्डिया र गोल्डन एकर जातको लागि २० देखि ३० ग्राम र हाइब्रीड जातको लागि १० ग्राम वीउको आवश्यकता पर्छ ।
लगाउने समय
मध्ये पहाडमा बेमौसमी बन्दा उत्पादन गर्न चैत देखि असार सम्म बेर्ना राख्नुपर्छ । र २०–२५ दिनको विरुवा सार्नु पर्दछ । मौसमि बन्दाको लागि भने साउन पछि बैसाखसम्म बेर्ना राखिन्छ ।
नर्सरी व्यवस्थापन
पारिलो वा विहान देखि बेलुकासम्म घाम लाग्ने, पानी नजम्ने, सिँचाइ र निकासको राम्रो व्यवस्था भएका ठाउ छान्ने । अलि अलि वालुवा मिसिएको, खुकुलो दोमट माटो भएको, प्रशस्त प्राङ्गारिक पदार्थ भएको रुख, कान्ला, घर, गोठ आदि केहीको पनि छाँया नपर्ने ठाउँ नर्सरीकोलागि उपयूक्त हुन्छ ।
जग्गाको तयारी
ठिक्क चाहिने चिस्यानको व्यवस्था गर्न वर्षायाममा बनाईने ब्याड कम्तिमा १५÷२० से.मी उच्चो हुनु पर्छ । ब्याडको वरीपरी कुलेसो काटेर पानी तर्काउने व्यवस्था गर्नुपर्छ । ब्याडको चौडाइ १ मिटर जति र लम्बाई आवश्यकता अनुसार हुनुपर्छ । राम्रोसँग खनजोत गरी झारपात, ढुंगाका हटाई डल्ला फोरेर माटोलाई बुर्बुराउँदो बनाउनुपर्छ ।
मलखाद व्यवस्थापन
१ वर्गमिटर ब्याडलाई ५ किलो गोठेमल, ५ ग्राम युरिया, ५ ग्राम डि.ए.पि., ५ ग्राम पोटासका दरले हाली माटोमा राम्ररी मिलाउनुपर्छ । नोटः– मलिलो माटोमा गोठेमल ८–१० किलो र खरानी ४,५ मुठ्ठी प्रति वर्गमीटर राख्न सके रासायनिक मलको आवश्यक्ता पर्दैन ।
बीउ छर्ने तरीका
८÷१० से.मी. (५—६ अँगुल) को फरकमा २ से.मी. (१ अँगुल) गहिरो धर्सा बनाउनु पर्छ । हरेक धर्सामा ४ से.मी. (२–३ अँगुल) को फरकमा बीउ खसाल्नुपर्छ । त्यस धर्सामा बालुवा, खरानी, माटो वा कम्पोष्टको धुलोले बीउ पुरेर हातले हल्कासंग थिच्नुपर्छ । बीउ रोपिसकेपछि वर्षायामको मुसलधारे पानीबाट जोगाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।
छानो वा गुमोजको व्यवस्थाः–
नर्सरीलाई बर्षात वा बढि चिस्यानबाट बचाउन घाम छिर्ने तर पानी नछिर्ने सेतो प्लाष्टिकको छानो (१–१.५मीटर अग्लो र एकतिर करालो परेको) बनाउनुपर्छ । पानी परेको बेला प्लाष्टिकले छोप्ने र पानी नपरेको बेला प्लाष्टिक हटाउनु पर्छ । तर राती नर्सरीलाई प्लाष्टिकले ढाक्नुपर्छ । तर हिउदमा बेर्ना उत्पादन गर्न को लागि भने पालोबाट बचाउनको लागि प्लाष्टिकको गुमोज बनाउनुपर्छ । बेर्ना उम्रेपछि दिउसो प्लाष्टिक हटाउने र राती छप्ने गर्नुपर्छ ।
बेर्नाको हेरचाह
यसका लागि २,३ दिन बिराएर हजारीले एकनाससँग बिहान वा साँझपख १ भाग मुत्र वा गितीमलमा ८,१० भाग पानी मिसाएर छर्कनुपर्छ । झारपात देखिने बित्तिकै उखेली हटाउनुपर्छ र चुच्चे कुटोले ब्याड हल्कासँग खोस्री एक दुई पटक बेर्ना गोड्नुपर्छ ।
बेर्ना सार्ने दुरी
अगौटे जातहरुको लागि ४० सेमि बोटदेखि बोट र ४० सेमि लाईनदेखि लाईनको दुरी र ६० सेमि लाईनदेखि लाईनको दुरी र ४५ से.मी. बोटदेखि बोटको दुरी उपयुक्त हुन्छ ।
जमिनको तयारी
बन्दा लगाउने जमिन २,३ पटक खनजोत गरि डल्ला फुटाउने, ढुङ्गा, झारपातहरु र बाली नालिका अवशेषहरु हटाउने । बर्षातमा खेती गरिने भएकाले १० सेमि जति अग्लो ड्याङमा बेर्ना रोप्नुपर्छ । अथवा निकासको लागि हरेक २÷३ लाइनको फरकमा १०÷१५ (१ कुरेत) गहिरो र १ मुडी हात चौडा कुलेसो बनाउने । वरिपरिबाट निकासको राम्रो ब्यवस्था गर्ने ।
मलखाद
बिरुवा रोप्न को लागि २० सेमि(१ बित्ता भन्दा गहिरो खाडलहरु बनाई प्रत्येक खाडलमा २, ३ किलो राम्ररी पाकेको पर्सो, १५ ग्राम गेडामल, १० ग्राम पोटास वा १ मुठी खरानी राख्ने । बोरेक्स १ किलो प्रतिरोपनी का दरले जमिन तयार गर्दा माटोमा मिसाउने ।
बेर्ना सार्ने
बेर्ना सार्नु १ हप्ता पहिले देखि सिचाई नगरिकन बेर्नालाई खुला वतावरणमा बानी पार्नु पर्दछ । यसको लागि वर्ना ३ पातको भएपछि २,३ दिन सम्म दिनमा प्लाष्टिक हटाउने तर रातको समयमा छोप्नुपर्दछ । त्यसपछि सधैंको लागि प्लाष्टिक हटाइदिनु पर्दछ । ब्याडमा बेर्ना तयार भएपछि बेर्ना उखेल्नु १,२ घन्टा अघि पानीले भिजाउनु पर्छ र जरा नटुट्ने गरी खुर्पीले माटो समेत निकाल्नु पर्छ । र मल राखिएको खाडलमा ब्याडमा बेर्नाको जति भाग माटोमा छ त्यति नै भाग मात्र माटोमुनि पर्नेगरि रोप्ने र सिंचाई गर्ने । बेर्ना सारेको १,२ दिनमै नुभान १ एम एल र बेभिष्टिन १ ग्रा प्रतिलीटर पानीमा मिसाई बेर्नामा र वरीपरी फेदमा समेत पर्नेगरी छर्ने ।
पुन मलखाद
बिरुवा सारेको २०, २५ दिनपछि ५,५ ग्राम (१÷१ चिम्टी) यूरिया, र पोटास वा १ मुठि खरानि प्रतिबोट पर्नेगरि फेदबाट ५सेमि टाढा ५ सेमि गहिरो गरी राखि छोपिदिने र डल्ला बन्न लागेपछि प्रतिबोट ५ ग्रा यूरीया बोट वरिपरि छरेर माटोमा मिलाउने र सिचाई गर्ने । युरीयाको वदलामा गहूत वा गितीमल १ भागमा ५ भाग पानी मिसाएर १० दिनको फरकमा छर्कन सकिन्छ ।
बन्दामा लाग्ने रोग र कीरा व्यवस्थापन–
रोग कीरा लाग्न नदिने वा आर्थिक रुपमा क्षति हुन नदिने उपायहरु
१) रोग अवरोधक जातहरु जस्तै बन्दाको ग्रीन क्राउन, गी्रन कोरोनेट, टी–६२१ जातको खेती गर्ने ।
२) सिरेसान वा क्याप्टान २ ग्रा. प्रति किलो का दरले वीउ उपचार गर्ने ।
३) नर्सरीको राम्रो व्यवस्थापन गरी स्वस्थ विरुवा मात्र सार्ने ।
४) राम्ररी पाकेको गोवरमल को प्रसस्त प्रयोग गर्ने ।
५) झारपात तथा पुरानो पातहरु हटाएर खेतबारी सफा राख्ने र लामो फसल चक्र अपनाएर खेती गर्ने ।
६) राम्ररी अवलोकन गरी पातको तल्लोपट्टी भएका पूतलीका पहेला अण्डाहरु र लार्भा हरु थिचेर मार्ने ।
७) निकासको राम्रो ब्यवस्था गर्ने र बेर्ना ड्याङमा लगाउने ।
रोगहरु
१) ड“ाठ, फेद, वा जरा कुहिने रोग– यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम ४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।
२) कालो सडन– बन्दाको पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि पी. सुरक्षा प्रतिलिटर पानीमा घोलेर ४,५ दिनको फरकमा छर्कने । साथै प्लानटोमाइसीन वा स्ट्रेप्टोमाइसीन १,२ मि. लि. प्रति १० लि. पानीको दरले २/३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेति गर्ने ।
३) पात नरम भएर सडने रोग– शुरुमा यो रोग लागेको बोटको केही पातहरु दिउसो ओईलाउने र साझ स्वस्थ देखिन्छन् पछि पात कुहिएर मर्छ । डल्ला को बाहिरी पात भन्दा भित्री पात बढी कुहिएको देखिन्छ । यसको व्यवस्थापनको लागि स्वस्थ वेर्ना प्रयोग गर्ने, लामो वाली चक्र अपनाएर खेति गर्ने, राम्रो निकासको व्यवस्था मिलउने,माटोमा प्रसस्त गोठेमल मिसाउने । डाइथेन एम– ४५ वा बेभिस्टिन २ ग्राम प्रति लिटर पानीको दरले १५,१५ दिनको फरकमा २,३ पटक छर्कने ।
किराहरु
१) लाही किरा– यी किराहरुले कलिलो मुन्टा वा पात मुन्तिर वसेर रस चुसेर क्षति पु¥याउछन् । जसले गर्दा वोट नबढने र पात खुम्चने गर्छ । यसको रोकथामको लागि १ भाग गौंत मा १० भाग पानी मिसाएर छर्कने । खरानी छर्कने ।
२) पात खाने लार्भाहरु– यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने । वा मालाथियन वा थायोडान २ एम.एल.प्रतीलीटर पानीका दरले किराहरु देखेपछि छर्कने । वा १० दिनको अन्तरमा बानस्पतिक बिषादिको प्रयोग गर्ने । लार्भालाई खाने बारुलाको संरक्षण का लागि घातक बिषादिको प्रयोग नगर्ने ।
उत्पादन
मौसमी बन्दा प्रतिरोपनी १०००–१५०० किलो सम्म उत्पादन हुन्छ । त्यतिबेला बन्दाको मुल्य रु ५–१० सम्म पर्छ ।
– कालीप्रसाद पाण्डे
