सिकाई सुधारका लागि

विद्यालयमा मायालु, सुरक्षित र रमाइलो वातावरणमा पढ्न र सिक्न पाउनु हरेक विद्यार्थीको अधिकार हो । त्यस कारण कक्षाकोठा मात्र नभएर विद्यालय हातालाई नै मायालु, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन विद्यालयको दायित्व हो ।
पढ्ने सिक्ने परिवेशलाई माथि भनेजस्तो बनाउन एउटा अवधारणा वा प्रक्रिया अपनाउन सकिन्छ । जुन कुनै सिद्धान्त, दृष्टिकोण र बेग्लै पाठ्यक्रम नभई विद्यालयको परिवेशलाई सिकाईका लागि सहज र अनुकुल बनाउने एउटा विधि हो । विद्यालय प्रशासन र शिक्षकले चाहे भने जतिसुकै पाठ्यक्रमलाई पनि प्रभावकारी ढंगले लागू गर्न सक्छन् ।
शैक्षिक उपलब्धी डिभिजन र डिग्री हासिल पार्दैमा कुनै विद्यार्थीको सफलता हासिल ग¥यो भन्न मिल्दैन । शैक्षिक उपलब्धीसँगै विद्यार्थीको सामाजिक र भावनात्मक व्यवहारमा परिवर्तन आउनुपर्दछ । शैक्षिक उपलब्धीबाट भन्दा पनि व्यक्तिले देखाउने सामाजिक र भावनात्मक व्यवहारबाट व्यक्तिको वास्तविक मूल्यांकन हुन्छ । ठूल्ठूला डिग्री हासिल गरेका भन्दा सामाजिक र भावनात्मक कौशल राम्रो भएका व्यक्तिलाई समाजले राम्रो मानेको हुन्छ ।
राम्रो डिभिजन र डिग्री पनि एक्लै र औसत हासिल हुनसक्ने कुरा होइन, जुन कक्षामा सामाजिक र भावनात्मक कौशललाई महत्व दिइएको हुन्छ, त्यही कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी सफल हुन्छन् । त्यसैले उत्तरदायि कक्षा भनेको क्षमता निर्माणको अवधारणा हो । यसले सिधै कुनै विषयको ज्ञान बढाउने नभई विद्यार्थीको समग्र शैक्षिक उपलब्धी बढाउन मदत गर्छ । यो प्रत्यक्ष रुपमा सिकाई उपलब्धी बढाउने भन्दा सिकाई उपलब्धी बढाउने वातावरण सिर्जना गर्ने अवधारणा हो ।
उत्तरदायी कक्षाको अवधारणाले विद्यार्थीलाई सामाजिक कौशल सिकाउँछ, जसबाट उनीहरुमा आफ्नो, परिवारको र विश्वको हेरचाह गर्ने जागरुकता र क्षमता बढ्छ, विद्यार्थीहरु आफूले आफैंलाई अनुशासनमा राख्न सिक्छन् । आम बुझाइमा अनुशासन भनेको पालना गर्ने कुरा हो । वास्तवमा भन्ने हो भने यो त एउटा सामाजिक सीप हो, जुन सबैले सिक्नुपर्दछ, त्यसैले पनि उत्तरदायी कक्षाको अवधारणाको महत्व बढेको हो ।
उत्तरदायी कक्षामा सिक्ने, ज्ञान निर्माण गर्ने र अवधारणा विकास गर्ने वातावरण सुनिश्चित गरिएको हुन्छ । विद्यार्थीले आफूलाई सुरक्षित ठाने मात्र सीप सिक्न र ज्ञान निर्माण कार्यमा राम्रोसित सामेल हुन सक्छ । तर विद्यार्थीको ध्यान एकाग्र छैन, उसले आफू र अरुको हेरविचार गरेको छैन, विभिन्न क्रियाकलापमा सहभागी हुँदैन, शिक्षकको निर्देशन पालना गर्दैन, पढाई लेखाई वा कामको सट्टा खेलतिर मात्र ध्यान दिन्छ, कक्षामा शान्ति खल्बल्याउँछ र बोलेको, बोलाएको सुनेको छैन भने यस्तो अवस्थामा उसलाई तत्काल ज्ञान निर्माण र सीप सिक्नबाट विश्राम दिनुपर्छ । यसो गरेका उसले परिस्थितिबारे सोच्न पाउँछ, आफूलाई नियन्त्रण गर्न सक्छ र सिक्ने र ज्ञान निर्माण गर्ने काममा पुनः सामेल हुने मौका पाउँछ ।
चाहे विद्यालय भित्र होस् वा बाहिर, जीवनमा सफल हुन शैक्षिक मानसिकता, लगनशिलता, सिकाई रणनीति शैक्षिक व्यवहार जस्ता प्राज्ञिक क्षमता र सहयोगी भावना, जिम्मेवारीपन, सहानुभूति, आत्मनियन्त्रण जस्ता सामाजिक र भावनात्मक दक्षता विद्यार्थीमा हुनुपर्दछ । शैक्षिक क्षमताले विद्यार्थीको ज्ञान निर्माण र सीप तथा कौशल सिकाइलाई सहजीकरण गरिदिन्छ । “म सिक्ने सिकाउने समुदायमा छ, मेरो प्रयासले मेरो ज्ञान निर्माण, सीप सिकाई र विभिन्न अवधारणाको बुझाइमा सुधार गर्न सक्छ, म आफूले गरेको काममा सफलता पाउँछु र मैले गरेको काम मूल्यवान् छ” भन्ने मानसिकताले विद्यार्थीको ज्ञान निर्माण र सीप सिक्न सक्ने शैक्षिक क्षमता बढाउँदै लैजान्छ, लगनशीलता पनि विद्यार्थीको अर्काे प्राज्ञिक क्षमता हो । बाधा, व्यवधान र चुनौतीका बाबजुद आफ्नो काम समयमा राम्रो तरिकाले र आफ्नो क्षमताको पूर्ण सदुपयोग गरी पूरा गर्ने प्रवृत्तिले विद्यार्थीको लगनशीलता देखाउँछ ।
यसका सिद्धान्त वा तरिकाहरु
१) सामाजिक र भावनात्मक सीप पनि पाठ्यक्रमका विषयवस्तु जतिकै महत्वपूर्ण हुन्छ । विद्यार्थीको सिकाइमा जति विषयवस्तुको ज्ञानको महत्व छ, त्यति नै सामाजिक र भावनात्मक कौशलको महत्व हुन्छ ।
२) विद्यार्थीले कसरी सिक्छन् र के सिक्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले के सिकाउँछौं भन्ने कुरा कसरी सिकाउँछौं भन्ने जतिकै महत्वपूर्ण हुन्छ । विषय र प्रक्रिया सँगसँगै जान्छन्, यसले विद्यार्थीले सिक्न चाहेका कुरासँगै उनीहरुको आकांक्षा, ज्ञान र तागतको सन्तुलन गरिदिन्छ ।
३) सामाजिक अन्तक्र्रियाले शैक्षिक उपलब्धी बढाउन मदत गर्छ । विद्यार्थीले उच्च तहको उपलब्धी त्यतिबेला हासिल गर्छ, जतिबेला उसको सामाजिक अन्तक्र्रिया राम्रो हुन्छ । त्यसैले उत्तरदायी कक्षामा विद्यार्थीलाई आफूले जानेका बुझेका र नबुझेका कुराहरु बताउन प्रशस्त मौका दिइन्छ ।
४) विद्यार्थीले हुर्किने क्रमसँगै सिकेका व्यक्तिगत, सामाजिक र साँस्कृतिक कुराबाट नै हामीले उनीहरुसँग राख्ने अपेक्षा देखाउने प्रतिक्रिया र उनीहरुप्रतिको धारणा निर्धारण हुन्छ । हामीले उनीहरुलाई सिकाउने विषयवस्तु बुझ्न जरुरी छ, त्यति नै जरुरी उनीहरुको व्यक्तिगत, साँस्कृतिक र विकासात्मक कुराहरु बुझ्नुहुन्छ । विद्यार्थीलाई जति धेरै अवलोकन गरियो, त्यति नै धेरै उसको बारेमा थाहा पाउन सकिन्छ । त्यति धेरै शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी हुन्छ, अझ उत्तरदायी कक्षामा त हरेक शिक्षकलाई केही समय भए पनि हरेक दिन विद्यार्थीलाई अवलोकन गर्न लगाइन्छ र सोको अभिलेख राख्ने गरिन्छ ।
५) शिक्षकको लागि विद्यार्थीको परिवारसँगको साझेदारी पनि विद्यार्थीको बारेमा भएको ज्ञान र पढाउन आवश्यक विषयगत ज्ञान जतिकै महत्वपूर्ण हुन्छ । एउटा सफल र प्रभावकारी शिक्षणमा विद्यार्थीलाई जान्न जति जरुरी छ, त्यति नै जरुरी उसको परिवारलाई चिन्न तथा उसको शान निर्माण, सीप सिकाइ र अवधारणा बुझाइमा परिवारको संलग्नता गराउनमा हुन्छ, यदि साँच्चै विद्यार्थीको पारिवारिक मूल्य एवं मान्यता थाहा पाउनै पछै, त्यसैले पनि शिक्षकहरुले विद्यार्थीको परिवारमा जाने र परिवारलाई कक्षाकोठामा ल्याउने काम गर्नुपर्दछ ।
६) समूहमा सुरक्षित, रमाइलो र समावेशी विद्यालयको वातारण सिर्जना गर्ने काम शिक्षकहरुको व्यक्तिगत योगदान र क्षमता जतिकै महत्वपूर्ण हुन्छ । विद्यालयमा वयस्कहरुले कसरी काम गर्छन् भन्ने कुराले विद्यार्थीको सिकाईमा अत्यन्त महत्वपूर्ण अर्थ राखेको हुन्छ । यदि हामी वयस्कहरु मिलेर काम ग¥यौं वा आफ्नो वरिपरिको वातावरणको रेखदेख गर्छौं भने विद्यार्थीले यही चिज देख्छन् र सिक्छन् । त्यसैले पनि उत्तरदायी कक्षा दृष्टिकोणमा वयस्कहरुलाई प्रेरणाको स्रोतको रुपमा लिइन्छ ।
– सुमन तिमल्सिना

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सिकाई सुधारका लागि

सर्वप्रथम सिकाई शिक्षकसँग कक्षाकोठामा मात्र हुने प्रक्रिया होइन, यो त शिक्षक, सहपाठी साथी, अभिभावक समाजका ...

Translate »