काउली खेती प्रविधि

काली प्रसाद पाण्डे

परिचय

परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली काउली केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न सकिन्छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा काउली खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात जेठ देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी काउली खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने काउली मौसमि काउली हो ।
काउलीका वेमौसमी जात र रोप्ने समय
वीउदर– १ रोपनी जग्गाको लागि हाइब्रीड जातको १० ग्राम वीउको आवश्यकता पर्छ । ज्यापू, काठमाण्डौ लोकल जस्ता जातहरुको लागि २५–३० ग्राम वीउको आवश्यकता पर्दछ । लगाउने समय– मध्ये पहाडमा बेमौसमी काउली उत्पादन गर्न चैत देखि साउन सम्म बेर्ना राख्नुपर्छ र २०–२५ दिनको विरुवा सार्नु पर्दछ । साउन पछि बेर्ना राखिने काउली मौसमि काउली हो ।
नर्सरी व्यवस्थापन
क. जग्गा छनौट गर्दा निम्न कुराहरुमा विशेष ध्यान दिनु पर्दछ– पारिलो वा विहान देखि बेलुका सम्म घाम लाग्ने ठाउँ,पानी नजम्ने, सिँचाइ र निकासको राम्रो व्यवस्था भएको, अलि अलि वालुवा मिसिएको, खुकुलो दोमट माटो भएको, प्रशस्त प्राङ्गारिक पदार्थ भएको रुख, कान्ला, घर, गोठ आदि केहीको पनि छाँया नपर्ने ठाउँ ।

ख. जग्गाको तयारी– ठिक्क चाहिने चिस्यानको व्यवस्था गर्न वर्षायाममा बनाईने ब्याड कम्तिमा १५/२० से.मी अर्थात १ बित्ता उच्चो हुनु पर्छ तर हिउदमा बनाईने नर्सरी जमिनको सतहमा नै बनाउनुपर्छ । बर्षातमा ब्याडको वरीपरी कुलेसो काटेर पानी तर्काउने व्यवस्था गर्नुपर्छ । ब्याडको चौडाइ १ मिटर जति र लम्बाई आवश्यकता अनुसार हुनुपर्छ । राम्रोसँग खनजोत गरी झारपात, ढुंगाका हटाई डल्ला फोरेर माटोलाई बुर्बुराउँदो बनाउनुपर्छ ।

ग. मलखाद व्यवस्थापन– १ वर्गमिटर ब्याडलाई ५ किलो गोठेमल, ५ ग्राम युरिया, ५ ग्राम डि.ए.पि., ५ ग्राम पोटासका दरले हाली माटोमा राम्ररी मिलाउनुपर्छ ।

घ. बीउ रोप्ने तरीका– ८/१० से.मी. (५—६ अँगुल) को फरकमा २ से.मी. (१ अँगुल) गहिरो धर्सा बनाउनु पर्छ । हरेक धर्सामा ४ से.मी. (२–३ अँगुल) को फरकमा बीउ खसाल्नुपर्छ, । त्यस धर्सामा बालुवा, खरानी, माटो वा कम्पोष्टको धुलोले बीउ पुरेर हातले हल्कासंग थिच्नुपर्छ । बीउ रोपिसकेपछि वर्षायामको मुसलधारे पानीबाट जोगाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।

छानो वा गुमोज वा अर्ध गुमोजको व्यवस्थाः– नर्सरीलाई बर्षात वा बढि चिस्यानबाट बचाउन घाम छिर्ने तर पानी नछिर्ने सेतो प्लाष्टिकको छानो (१–१.५मीटर अग्लो र एकतिर करालो परेको) बनाउनुपर्छ । पानी परेको बेला प्लाष्टिकले छोप्ने र पानी नपरेको बेला प्लाष्टिक हटाउनु पर्छ । तर राती नर्सरीलाई प्लाष्टिकले ढाक्नुपर्छ । हिउदको लागि भने प्लाष्टिकको गुमोज बनाउनुपर्छ ।

ङ. बेर्नाको हेरचाह – यसका लागि २,३ दिन बिराएर हजारीले एकनाससँग बिहान वा साँझपख पानी र १ हप्ताको फरकमा १ भाग मुत्र वा गितीमलमा ८,१० भाग पानी मिसाएर छर्कनुपर्छ । झारपात देखिने बित्तिकै उखेली हटाउनुपर्छ र चुच्चे कुटोले ब्याड हल्कासँग खोस्री एक दुई पटक बेर्ना गोड्नुपर्छ ।
नोटः–मलिलो माटोमा ८–१० किलो गोठेमल र खरानी ४,५ मुठ्ठी प्रति वर्गमीटर राख्न सके रासायनिक मलको आवश्यक्ता पर्दैन
बेर्ना सार्ने दुरी– अगौटे जातहरुको लागि ४५ सेमि बोटदेखि बोट र ४५ सेमि लाईनदेखि लाईनको दुरी र तथा मध्यम र पछौटे जातको लागि ६० सेमि लाईनदेखि लाईनको दुरी र ४५ से.मी. बोटदेखि बोटको दुरी उपयुक्त हुन्छ ।

जमीनको तयारी

काउली लगाउने जमीन २,३ पटक खनजोत गरि डल्ला फुटाउने, ढुङ्गा, झारपातहरु र बाली नालीका अवशेषहरु हटाउने । बर्षातमा खेती गरिने भएकाले १० से.मि. जति अग्लो ड्याङमा बेर्ना रोप्नुपर्छ । अथवा निकासको लागि हरेक २/३ लाइनको फरकमा १०–१५ से.मी.(१ कुरेत) गहिरो र १ मुडी हात चौडा कुलेसो बनाउने । वरिपरिबाट निकासको राम्रो ब्यवस्था गर्ने ।
मलखाद

बिरुवा रोप्न को लागि २० सेमी (१ बित्ता) भन्दा गहिरो खाडलहरु बनाई प्रत्येक खाडलमा २, ३ किलो राम्ररी पाकेको पर्सो, १५ ग्राम डिएपी (कालोमल), १० ग्राम पोटास वा १ मुठी खरानी राख्ने । बोरेक्स १ किलो प्रतिरोपनी का दरले जमीन तयार गर्दा माटोमा मिसाउनु उपयुक्त हुन्छ ।
बेर्ना सार्ने

बेर्ना सार्नु १ हप्ता पहिले देखि सिचाई नगरिकन बेर्नालाई खुला वतावरणमा बानी पार्नु पर्दछ । यसको लागि २/३ दिन सम्म मुसलधारे पानी परेको बेला बाहेक अरु बेला प्लाष्टिक हटाइदिनु पर्दछ । तर रातीको समयमा छाप्नुपर्दछ । त्यसपछि सधैंको लागि प्लाष्टिक हटाइदिनु पर्दछ । ब्याडमा बेर्ना तयार भएपछि बेर्ना उखेल्नु १/२ घन्टा अघि पानीले भिजाउनु पर्छ र जरा नटुट्ने गरी खुर्पीले माटो समेत निकाल्नु पर्छ । र मल राखिएको खाडलमा ब्याडमा बेर्नाको जति भाग माटोमा छ त्यति नै भाग मात्र माटोमुनि पर्नेगरि रोप्ने र सिंचाई गर्ने ।बेर्ना सारेको १,२ दिनमै नुभान १ एम एल र बेभिष्टिन १ ग्रा प्रतिलीटर पानीमा मिसाई बेर्नामा र वरीपरी फेदमा समेत पर्नेगरी छर्ने ।
पुन मलखाद

बिरुवा सारेको २०, २५ दिनपछि ५,५ ग्राम (१/१ चिम्टी) यूरिया, र पोटास वा १ मुठि खरानी प्रतिबोट पर्नेगरि फेदबाट ५सेमि टाढा ५ सेमि गहिरो गरी राखि छोपिदिने र फुल बन्न लागेपछि प्रतिबोट ५ ग्रा यूरीया बोट वरिपरि छरेर माटोमा मिलाउने र सिचाई गर्ने । युरियाको बदलामा १भाग मुत्र वा गितीमलमा ३,४ भाग पानी मिसाइ १५– २० दिनमा प्रयोग गर्न सकिन्छ ।
आवश्यकता अनुसार सिंचाइ र गोडमेल गर्ने ।
काउलीमा लाग्ने रोग र कीरा व्यवस्थापन
१) रोग अवरोधक जातहरु जस्तै रेमी,स्नो क्राउन जातको खेती गर्ने ।

२) सिरेसान वा क्याप्टान २ ग्रा प्रति किलो का दरले वीउ उपचार गर्ने ।

३) नर्सरीको राम्रो व्यवस्थापन गरी स्वस्थ विरुवा मात्र सार्ने ।

४) राम्ररी पाकेको गोवरमल को प्रसस्त प्रयोग गर्ने ।

५) निकासको राम्रो व्यवस्था गर्ने वा बेर्ना ड्याङमा लगाउने ।

६) झारपात तथा पुरानो पातहरु हटाएर खेतबारी सफा राख्ने ।

७) लामो फसल चक्र अपनाएर खेती गर्ने ।

८) राम्ररी अवलोकन गरी पातको तल्लोपट्टी भएका पूतलीका पहेला अण्डाहरु र लार्भा हरु थिचेर मार्ने ।
रोगकिरा
१) ड“ाठ, फेद, वा जरा कुहिने रोग– यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम–४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।
२) कालो सडन– पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि पी. सुरक्षा प्रतिलिटर पानीमा घोलेर ४,५ दिनको फरकमा छर्कने । वा प्लान्टोमाइसीन वा स्ट्रेप्टोमाइसीन १–२ मि. लि. प्रति १० लि. पानीको दरले २/३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेती गर्ने ।
१) लाही किरा– यी किराहरुले कलिलो मुन्टा वा पात मुन्तिर वसेर रस चुसेर क्षति पु¥याउछन् । जसले गर्दा वोट नबढने र पात खुम्चने गर्छ । यसको रोकथामको लागि १ भाग गौंत मा १० भाग पानी मिसाएर छर्कने । खरानी छर्कने ।
२) पात खाने लार्भा– यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने । १० दिनको अन्तरमा बानस्पतिक बिषादिको प्रयोग गर्ने । लार्भालाई खाने बारुलाको संरक्षण का लागि घातक बिषादिको प्रयोग नगर्ने ।
काउलीमा देखिने केहि समस्याहरु
१) ब्राउन रट (खैरो सडन)ः– शुरुमा काउलीको फुलमा बैजनी रंगको धब्बाहरु देखिन्छ पछि गएर पूरै फूल खैरो भएर गुण बिगार्छ । काउलिको डाँठ भित्रपट्टी खोक्रो हुन्छ र खैरो रंगको लक्षण देखिन्छ । रोकथामको लागि बोरेक्स वा फर्टिमिन–बी २–३ ग्राम प्रतीलीटर पानीको दरले छर्कने ।
२) काउलीको पात डाडुजस्तो हुने समस्या– यो समस्या भएका काउलीको पातहरु मुख्य नसा मोटो भई पातहरु साँघुरो भई छियाछिया परेका हुन्छन् । यसको रोकथामको लागि सोडियम मोलिब्डेट १ किलो प्रतिरोपनीका दरले जमिन तयार गर्दा माटोमा मिसाउने । २ ग्राम सोडियम मोलिब्डेट प्रतीलीटर पानीमा हालेर छर्कने ।
काउलीको फुल टाँकजस्तो हुने समस्या (बटनिङ)
यो समस्या भएमा काउलीको फुल सानो भईरहने र नबढने हुन्छ । नाईट्रोजनको कमि भएमा, अगौटे जातको काउली ढिलो लगाएमा र छिप्पीएको बेर्ना लगाएमा यो समस्या देखिन्छ । यसको रोकथामको लागि काउलीलाई ठिक मात्रामा मलखाद दिने, अगौटे जातहरुलाई ढिलो गरि नलगाउने । बेर्ना ३–४ पातको भएपछि सारीहाल्नुपर्छ ।
उत्पादन–मौसमि काउली प्रतिरोपनी ५००– ८०० किलोसम्म हुन्छ । बेमौसममा काउलीको मुल्य रु १०–१५ सम्म पर्छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

फल समूहका तरकारीको बीउ उत्पादन प्रविधि

भूमिका हाम्रो देशको परिप्रेक्ष्यमा गोलभेडा, भन्टा, भेडे खुर्सानी, पीरो खुर्सानी र रामतोरिया धेरै महत्वपूर्ण तरकारी ...

Translate »