करेसाबारी

परिचय ः
आपनो घरको वरपर नजिकै तरकारी उपभोगको लागि थोरै जग्गामा तरकारी उत्पादन गर्दछन् । पूर्खाको पालादेखि नै घर नजिकको सानो जग्गामा मौसम अनुसारको विभित्र किसिमको तरकारी खेती गर्ने चलन छ । धेरैजसो स्थानिय जातका मुला, भाजी, सलगम, खुर्सानी, सिमी, फर्सी, काउली, बन्दा आदि करेसाबारीमा तरकारी लगाउने गरिन्छ । करेसाबारीमा व्यावशायिक रुपमा तरकारी खेती गर्ने नभएर परिवारको स्वास्थ्य तथा मिठो र पोषिलो खानको लागि तरकारी खेती गरिन्छ । कतिपय ठाउँ तथा घरहरुमा तरकारी विनाको खाना खाएर जिविका चलाउँदै आएको देखिन्छ । जसलेगर्दा धेरैजसो वच्चाहरु कुपोषण हुन्छ र ठूलठूला व्यक्तिहरु धेरै थरिका रोगले ग्रस्त हुन्छन् । त्यस्ता ठाउँहरुमा करेसाबारीको महत्व बारे स्पष्टपारी करेसाबारीमा तरकारी खेती गराउन जरुरी देखिन्छ । करेसाबारी भनेको आपनो घरमा तरकारी खानको लागि घर नजिकैको सानो जग्गामा विभित्र प्रकारको तरकारी खेती गर्नु हो ।
करेसाबारी किन ?
तरकारीको दुःख तथा अभाव भएको ठाउँमा करेसाबारीको धेरै आवश्यक्ता पर्दछ । तरकारी मिठो र स्वादिलोको लागि मात्र नभएर आपनो शरिरको राम्रो स्वास्थ्य वनाउनको लगि खानामा –भोजन) यसको ठूलो अवश्यक्ता पर्दछ । भोजन भनेको दाल, भात, रोटी, तरकारी, फलफूल, दुध, दही, माछा, मासु आदि मिलेको खानेकुरा हो । यति मध्येमा तरकारी कहिल्यै पनि टुटाउनु हँुदैन । तरकारीले बच्चाहरुलाई कुपोषणबाट बचाउने र शरिर बृद्धिमा ठूलो मद्धत पुर्याउँछ । सबै तहका मान्छेहरुलाई विभित्र प्रकारका रोग लाग्नबाट बचाउँछ र दिनभरी काम गर्ने शक्ति प्रदान गर्छ । यसरी तरकारीमा पाईने विभित्र किसिमका पौष्टिक तत्वले मान्छेका शरिरलाई तन्दुरुस्त र फूर्तिलो बनाई राख्छ । अझ खासगरी गर्भवती र सुत्केरीको लागि तरकारी खुवाउन अति जरुरी छ, यसको परिणाम आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
करेसाबारीको फाईदा ः
१. ताजा तरकारी उब्जाएर उपभोग गर्न पाईन्छ ।
२. खर्चको बचत हुन्छ साथसाथै बढी भएको तरकारीबाट केही आम्दानी हुन्छ ।
३. घर भित्र तथा घर वरपरको फोहर र खेर गएको पानीको सदुपयोग हुन्छ ।
४. जग्गाको सही सदुपयोग हुन्छ ।
५. शरिरमा पोषणको कमीबाट हुने रोगबाट बचाउँछ ।
करेसाबारीमा कसरी सजिलोसंग काम गर्न सकिन्छ ?
१. घरमा प्रयोग गरी खेर गएको पानीलाई संकलन गरी सिंचाईको रुपमा प्रयोग गर्न सकिन्छ ।
२. खरानी, पानी, कपाल आदि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।
३. करेसाबारी बाटै बीउ उत्पादन गर्न सकिने भएकोले बीउ कित्रे झन्झट हुँदैन ।
४. घरभित्र र आँगनबाट बढारेको घुरेन मल बनाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।
५. घर वरपरको श्रोतबाट कम्पोष्ट मल बनाउन सकिन्छ ।
६. कीरा र रोगको रोकथामको लागि झोलमल घरैमा तयारपार्न सकिन्छ ।
७. जग्गा र बारबाट गाईवस्तुलाई घाँस र सो को अवशेष र गोवरबाट गोठेमल तयार पार्न सकिन्छ ।
८. बार वा छेउबाट स्याउला काटी जग्गाको चिस्यानको लागि छापोको रुपमा प्रयोग गर्न सकिन्छ ।
९. करेसाबारीबाट पछिको लागि सजिलैसंग वीउ उत्पादन गर्न सकिन्छ ।
करेसाबारीको लागि ध्यान दिनुपर्ने कुराहरु ः
करेसाबारीमा राम्रोसंग तरकारी उत्पादन गरी उपभोग गर्न र फाईदा लिनको लागि तल उल्लेखित कुराहरुलाई ध्यान दिएमा सफलता पाईन्छ ।
१. ठाउँको छनौट ः
पहिले देखि नै करेसाबारी बनाई सकेको छ भने ठाउँको छनौट गर्नु पर्दैन र यदि करेसाबारी छैन भने त्यसको लागि ठाउँको छनौट गर्नु आवश्यक देखिन्छ । ठाउँको छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ । माटोको बनोट र प्रकार अनुसार मलको सिफारिस गर्नु पर्छ । यदि चिम्टाईलो र वलौटे माटो भएमा अन्य माटोमा भन्दा मल केहि बढी प्रयोग गर्नु पर्छ । तरकारी उत्पादनको लागि दोमट माटो धेरै राम्रो हुन्छ ।
० पानी जम्ने ठाउँ करेसाबारीको लागि उपयूक्त हुँदैन ।
० घाम लागेको वा पहारिलो ठाउँ हुनु पर्छ ।
० सिंचाई सुबिधा उपलब्ध पुर्याउन सकिने ठाउँ हुनु पर्छ ।
० पशुपंक्षीबाट जोगाउन बार लगाउन सकिने ठाउँको व्यवस्था हुनु पर्छ ।
० करेसाबारीमा आउन र जानको लागि बाटोको राम्रो वन्दोवस्त हुनु पर्छ ।
२. सुरक्षाको व्यवस्था ः
करेसाबारीमा तरकारी उत्पादनको लागि सुरक्षा व्यवस्था अति आवश्यक हुन्छ । जसलेगर्दा तरकारी उत्पादनमा नोक्सानी हुनबाट बचाई धेरै उत्पादन लिन सकिन्छ । सुरक्षा दुई प्रकारबाट गर्न सकिन्छ, ति यस प्रकारका छन् ।
पशुपंक्षीबाट सरक्षा दिने ः यसको लागि करेसाबारीमा बार लगाउनु पर्छ । यसमा स्थाई वा अस्थाई बार लगाउन सकिन्छ । तर गाउँघरमा अस्थाई बार लगाउने चलन बढी छ । अस्थाइ बार लगाउनको लागि ऐंसेलु, मेल, निलकाँडा काटेर प्रयोग गर्न सकिन्छ । तर सबभन्दा हरियो बार नै राम्रो हुन्छ । हरियो बारको लागि काँडा भएको विरुवा लगाउन उपयुक्त हुन्छ ।
तरकारीमा लाग्ने कीरा र रोगको रोकथामबाट सुरक्षा ः बाली विरुवामा विभित्र किसिमका कीरा तथा रोगहरु लाग्छ । यि विभित्र किसिमका कीरा तथा रोगका रोकथाम गर्न सकेमा तरकारी उत्पादन राम्रोसंग लिन सकिन्छ । यसका उपायहरु धेरै छन्, तर गाउँघरमै गर्न सकिने उपायहरु मध्ये मिश्रित खेती, घुम्तीबाली, झोलमल, घरेलु विषादी, वनस्पती विषादी आदिबाट रोग र कीराबाट रोकथाम गरी तरकारी उत्पादन गर्न सकिन्छ ।
३.चिस्यानको व्यवस्था ः
माटोमा चिस्यान भएन भने करेसाबारीबाट तरकारी उत्पादन लिन असफल भईन्छ । त्यसकारण माटोमा चिस्यान कायम राखी छोड्नको लागि विभित्र उपायहरु छन् । ति यसप्रकारका छन् ।
छापो ः रुख विरुवाका पात, स्याउला, पराल, नल, छ्वाली आदि माटोमथि विछ्याएमा माटोमा भएको चिस्यान कायम रही रहन्छ । त्यस्तै गरी विरुवाको वरीपरी छापो हालेमा छिट्टै माटोमा चिस्यान घट्न गई ओईल्याउन पाउँदैन ।
हरियो मल ः चाँडै कुहिन सक्ने रुख विरुवाका कलिला पात डाँठ माटो ढाक्ने गरी फिजाईन्छ र पछि गएर माटोमा कहिएर मलको रुपमा परिणत हुन्छ । जसले गर्दा धेरै समयसम्म माटोमा चिस्यान कायम रही रहन्छ ।
हावा छेक्ने तथा छायाँ दिने ः धेरै हावा लाग्ने ठाउँमा माटो चाँडै सुकाई दिन्छ । त्यस्तैगरी साह्रै घाम लागेको ठाउँमा पनि माटो सुकाई दिन्छ । यि दुवैलाई मिल्ने हिसावले करेसाबारीको वरपर तथा वीचवीचमा रुखहरु लगाई दियो भने छायाँ दिने तथा हावा रोक्छ । तर दिन भरी नै छेक्ने हिसावले रुखहरु लगाउनु हुदैन, जसको परिणाम वोटविरुवाले घामको मुख देख्न नपाई पहेंलिन थाल्छ । त्यसकारण घामको प्रकाश पर्ने हिसावले ईपिलईपिल, किम्बु, बकाईनो, कर्कले वा फलफूलका रुख विरुवा लगाए पनि हुन्छ । यसले हावा छेक्ने र छायाँ दिनुको साथसाथै दाउरा घाँस पनि हुन्छ ।
शित खस्ने ः वरिपरि लगाएको रुख तथा वोट विरुवाबाट पनि राति र विहान शित खसेर माटोमा चिस्यान थप्ने काम हुन्छ ।
सिंचाई ः माटोको चिस्यानको लागि सिंचाई सवै भन्दा महत्वपूर्ण छ । सिंचाई विना तरकारी खेती गर्न असम्भव छ । करेसाबारीको लागि सिंचाई , पानीको श्रोत छ भने प्रयाप्त मात्रामा पुग्छ । यदी पानीको श्रोत छैन भने धाराबाट खेर गएको पानी र घरको लागि प्रयोग गरिएको पानीलाई संकलन गरी करेसाबारीमा लागाएको तरकारीलाई सिंचाई सुविधा पर्याउन सकिन्छ ।
सिंचाई गर्दा ध्यान दिनु पर्ने कुराहरु ः
धेरै जग्गामा थोरै पानी हालेमा माथिल्लो तहको माटो मात्र भिज्छ । यसलेगर्दा विरुवाका जराहरु कहिले पनि तल जादैन र चर्को घाम लानदा छिटो सुक्छ । त्यसैले पानी हाल्दा बरु थोरै जग्गामा हाल्नु पर्छ । तर तलसम्म भिजाएर पछि छापो हाल्नु पर्छ । यसले गर्दा त्यो ठाउँमा धेरै दिनसम्म फेरी पानी हाल्नु पर्दैन । गर्मी समयमा दिउँसो पानी हाल्नु हुदैन, बेलुका हाल्ने गर्नु पर्दछ ।
४. मलको व्यवस्था ः
माटोमा मल विनाको कुनै पनि खेती गर्न असम्भव छ, यो थाहा भएको कुरा हो । करेसाबारीको लागि मल गाई वस्तु भएको घरमा गाठे मल र कम्पोष्ट मलले प्रयाप्त मात्रामा पुग्छ । यदि गाईवस्तु छैन भने त्यस्तो घरमा घर भित्र तथा घर वरपरको फोहर तथा घडेन्बाट पनि मल बनाई करेसाबारीको लागि प्रयोग गरिन्छ । करेसाबारीको लागि विभित्र श्रोतबाट मल पुर्याउन सकिन्छ । ति यस प्रकारका छन् ।
घुरेन खाडल ः घर भित्र वा घर वरपर वढार्दा निस्किने घुरेनलाई एउटा खाल्डोमा जम्मा गरी करेसाबारीलाई पुग्ने गरी मल पुर्याउन सकिन्छ ।
झोल मल ः प्लाष्टिकको ड्रम वा खाडलमा विभित्र किसिमका कीरा भाग्ने खालका रुख विरुवाका कलिला डाँठ, गोवर आदि पानीमा राखी १५–२० दिनमा झोलमल वनाउँदा हावा छिर्नु हुँदैन । यसलाई मल र विषादीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
छापो ः छापो खासगरी माटोको चिस्यान कायम राख्नको लागि प्रयोग गरिन्छ । तर यो छापो पछि गएर कहिन्छ र वोट विरुवाको लागि मलको रुपमा प्रयोग गरिन्छ ।
हरियो मल ः हरियो मलको लागि हुने वीउहरु छरेर पछि कलिलो अवस्थामै काटेर माटोमा नै मिलाएर पछि सो पात र डाँठ कुहिन्छ र मलमा रुपान्तरण हुन्छ । अथवा छिटै कुहिने खालका रुख विरुवाका कलिला डाँठ पात काटेर हरियो मलको रुपमा बारीमा फिंजार्न सकिन्छ ।
कोसे बाली ः जग्गामा कोसेबाली जातका बाली लगाएमा त्यसले नाईट्रोजन (यूरीया मलको रुपमा) को मात्रा माटोमा दिन्छ ।
अन्य वस्तुहरु ः खरानी, पिना, कुखुराको सुली, बाख्राको जुत्ता, कपाल आदि माटोमा मिसाएर पनि माटोमा मलको मात्रा पु¥याउन सकिन्छ ।
५. बीउको व्यवस्था ः
गाउँ घरमा प्राय जसो स्थानीय बीउ नै प्रयोग गर्ने चलन छ । स्थानीय बीउ राम्रोसंग उत्पादन राम्रो गर्न सक्यो भने त्यसलले राम्रोसंग उत्पादन दिन सक्छ । तर अचेल उत्रत जातको बीउ प्रशस्त पाईन्छ । यस्ता बीउबाट तरकारी बाली लागाउन सके वढी उत्पादन दिने, छिटो पाक्ने र रोग कीराबाट सहन सक्ने क्षमता बढ्छ । यस्तो किसिमको बीउ लगाएता पनि पछि स्थानीय बीउको रुपमा उत्पादन गरे पनि हुन्छ । बीउहरु छिमेकीमा साटासाट गरे पनि हुन्छ, जसले गर्दा विभित्र किसिमका बीउ एउटै घरले उत्पादन गर्नु पर्ने झंझट हुदैन ।
६. बाली लगाउने तरिका ः
करेसाबारीमा सकेसम्म धेरै प्रकारको तरकारी लागाएर उपभोग गर्न चाहन्छन् । त्यसकारण बाली लगाउदा अग्लो झाङ्गीने खालको तरकारी नजिक नजिक लगाउनु हुदैन । यसरी झाङ्गीने खालको लगाउदा बाक्लो भई विभित्र रोग लागि उत्पादन दिदैन । त्यसकारण सानो र ठूलो जातका तरकारी बाली मिसाएर लगाउनु पर्छ । यो मिश्रित तरकारी खेतीमाआधारित पर्दछ ।

करेसाबारीमा लगाउन सकिने तरकारी बालीहरु यस प्रकारका छन् ः
० बकुल्ला, सिमी, गोलभेडा, प्याज, केराउ, स्विसचार्ड, धनिया, काउली, लसुन, गाजर, बन्दा, मुला, सलगम, ग्याँठकोभी, पिरो खुर्सानी, भाजी, भेडे खुर्सानी, पालुङ्गो, भण्टा, सोंप, चम्सुर आदि ।
० नर्सरी सधै वेर्ना तयारी अवस्थामा रहनु पर्छ । एक खाले तरकारी टिपेर खाई सकेपछि, त्यस खाली ठाउँमा वेर्ना सारी हाल्नु पर्छ । यसो गर्दा कहिल्यै पनि तरकारीको खाँचो पर्दैन ।
७. छेउ खेती ः
छेउ खेती भत्राले तरकारी लगाउने नभईकन हावा छेक्ने, छायाँ दिने, रोग कीराबाट बचाउने र सामग्रीको रुपमा प्रयोग गर्नको लागि लगाईने वोट विरुवाहरु हुन् । जस्तै तितेपाती, असुरो, हजारी फूल, कागती घाँस, ईपिल ईपिल, किम्बु आदि बारीको छेउछाउमा लगाउने हो ।
छेउ खेती गर्ने ठाउँ ः
० जग्गाको बारमा,
० कान्ला कान्लामा,
० बाटोको छेउमा,
० कृषि वन क्षेत्रमा,
० तरकारी व्याडको छेउमा,
० आँगनको छेउमा,
० मलखाद, जुठेल्नु खाडल र घुरेन खाडलको छेउमा ।
– कालीप्रसाद पाण्डे

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

फल समूहका तरकारीको बीउ उत्पादन प्रविधि

भूमिका हाम्रो देशको परिप्रेक्ष्यमा गोलभेडा, भन्टा, भेडे खुर्सानी, पीरो खुर्सानी र रामतोरिया धेरै महत्वपूर्ण तरकारी ...

Translate »