काठमाडौँ । नेपाल राष्ट्र बैंकका पुर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
दश रुपैयाँको पोलिमर नोट छपाइमा भएको भ्रष्टाचारमा परेका रावलसँग थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले १० लाख रूपैयाँ धरौटी माग गरेको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
वर्षाैंदेखि अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलेको थियो । अख्तियारले ९१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो । रावल विशेष अदालतमा उपस्थित भए पनि अन्य उपस्थित नभएको विशेष अदालत श्रोतले जनाएको छ । अन्नपूर्णपोष्टबाट ।
