काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई चढेको गाडी दुर्घटना योजनाबद्ध भएको आशंका पीडित परिवारले गरेका छन् ।
१२ माघमा जितपुर सिमराको पसाहा पुल नजिक भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोख्ररेलको मृत्यु भएको थियो भने प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लाग हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रजिअ भट्टराईको परिवारले घटनामाथि शंका गर्ने प्रशस्त आधारहरु देखिएको भन्दै छानविनको माग गरेका छन् । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जाहेरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् । चालक कुर्मीले अमुक व्यक्तिको योजना अनुरुप दुर्घटना गराएको आरोप भट्टराई परिवारको छ ।
घटनामा सामान्य घाइते भएका चालक कुर्मीले तत्काल प्रहरी लगायतका सम्बन्धित निकायलाई कुनै खबर नगर्नुले पनि थप शंका उत्पन्न गराएको नरेशको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बारामा विगत २३ वर्षदेखि चालकको रुपमा कार्यरत् कुर्मीको अकुत सम्पत्ति रहेको पनि उनले दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सामान्य परिवारका कुर्मी कलैया, वीरगञ्ज र काठमाडौंस्थित अनामनगरमा करोडौंका घर जग्गा जोड्न सफल भएका छन् । आफूलाई स्थकायी सीडीओ बताउँदै हिँड्ने कुर्मीले विचौलियाको रुपमा गैरकानुनी रुपमा काम गर्ने गरेको उनी निकट व्यक्तिहरु बताउँछन् ।’
नेपाल सरकारका पूर्वप्रमुख जिल्ला अधिकारी, सचिवदेखि अन्य उच्च पदस्थ वहालवाला पदाधिकारीहरु अहिले कुर्मीलाई बचाउन लागेको समेत उनले आरोप लगाए ।
‘धेरै चर्चित नामहरु अहिले उनलाई बचाउन लागेको सुनिएको छ । जसले यो घटनालाई थप रहस्यमय बनाएको छ’, उनले भने, ‘घटना झन्झन् रहस्यमयी हुनु र बहालवाला र पूर्वसचिवसम्मको चासो बढ्नुले कतै घटनालाई सामसुम पार्न खोजिएको त होइन भन्ने आंशका परिवारजनमा परेको छ ।’
उनले घटनाबारे सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । सरकारको जिम्मेवार अधिकारी नियोजित दुर्घटनाको शिकार हुँदा समेत छानबिन आयोग गठन नहुनु विडम्बना भएको उनले बताए ।
उता, घटनाको विषयमा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईसँग जिज्ञासा राख्दा उनले घटनाको अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराखेको बताए ।
स्रोतः अनलाइन खबर ।