character sitting on the top of book's heap

सिकाई सुधारका लागि

सर्वप्रथम सिकाई शिक्षकसँग कक्षाकोठामा मात्र हुने प्रक्रिया होइन, यो त शिक्षक, सहपाठी साथी, अभिभावक समाजका अन्य व्यक्ति, कक्षाकोठा, समुदाय र भौतिक वातावरणसँगको अन्तक्र्रियाबाट अनि विद्यार्थीको सक्रिय सामाजिक क्रियाकलापबाट हुने प्रक्रियागत कार्य हो बुझ्नु जरुरी छ । सिक्नको लागि सिक्ने कला, निरन्तर सिकाई र जीवनपर्यन्त सिकाई अबका नागरिकमा हुनैपर्ने गुण हुन् । हामीले हाम्रा विद्यार्थीमा अब यी तीन गुणको विकास विद्यालय तहदेखि नै गरेनौं भने ऊ एक्काइसौं शताब्दीको नागरिक भएर बाँच्न सक्दैन । सिक्नको लागि सिक्ने कला भएको, सिकाईलाई निरन्तरता दिने र सिकाई जीवनपर्यन्त जारी राख्ने विद्यार्थीमा स्वतन्त्र रुपमा सिक्ने क्षमताको विकास हुन्छ । स्वतन्त्र रुपमा सिक्ने क्षमताको विकास गराउन सरकार, संस्था र व्यक्तिहरुको के कस्तो भूमिका हुनुपर्ने हो ? निक्र्याैल गर्नेपर्छ । साथै सिकाइ के हो भनेर बृहत अर्थमा बुझ्नु जरुरी छ ।
सिकाईलाई केन्द्रमा राखेर त्यसलाई समृद्ध बनाउन सिकाईका विभिन्न घटकहरुको भूमिका र अब राज्यले लिनुपर्ने बाटोको बारेमा संक्षिप्त रुपमा यहाँ चर्चा गरिएको छ ।
सिकाई र सिकाई वातावरण
विद्यार्थीले कसरी सिक्छ, के सिक्छ र कति सिक्छ भन्ने कुराको निक्र्याेल उसले सिक्ने वातावरण कस्तो छ भन्ने कुराले निर्धारण गर्छ । हाम्रो विद्यालय शिक्षामा सबैभन्दा पछाडि पारिएको र प्राथमिकतामा नपरेको क्षेत्र सिकाईको वातावरण पनि एक हो । जुन विद्यालयले सिकाई वातावरण सिर्जना गरेका छन् । त्यस्ता विद्यालयको सिकाई उपलब्धी अब्बल नै भएको पाइन्छ । हाम्रा केही सार्वजनिक या सामुदायिक विद्यालयको सिकाईको स्तर बजारमा नाम कहलिएका केही निजी वा नाफा वितरण नगर्ने गुठी÷कम्पनी विद्यालयको जतिकै राम्रो छ । यसो हुनुमा ती विद्यालयको सिकाई वातावरण राम्रो भएकोले नै हो । विद्यार्थीलाई कक्षाकोठामा ल्याउन, टिकाउन, सिकाउन र सिकाईप्रति अभिप्ररित गर्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको सिकाई वातावरण नै हो । विद्यालयमा सिकाई वातावरण बनाउनको लागि विद्यार्थीको व्यक्तिगत शारीरिक आवश्यकता पूरा गरिदिनुपर्छ । घाम र हावा राम्रोसँग लाग्ने कक्षाकोठा हुनुपर्छ । राम्रासँग हावा बहने झ्याल वा भेन्टिलेशन हुनुपर्छ । विद्यार्थीले राम्रोसँग पढ्न सक्ने प्रकाशको व्यवस्था मिलाउनुपर्छ । जाडो र गर्मी महिनामा कक्षामा बसेर आरामसँग पढ्न मिल्ने गरी झ्याल र ढोकाको व्यवस्था मिलाउनुपर्छ । विद्यार्थीलाई तिर्खा लाग्दा शुद्ध पिउने पानी र भोक लाग्दा खानेकुराको व्यवस्था मिलाउनुपर्छ । विद्यार्थीलाई नतर्सने गरी गर्नसक्ने काम मात्र गृहकार्यको रुपमा दिनुपर्छ । केटा र केटीहरुको लागि सहज रुपमा जान मिल्ने अलग–अलग शौचालय हुनुपर्छ ।
यस्तो वातावरण बने मात्र उनीहरु सिक्न र पढ्नको लागि तयार हुन्छन् । यस्तै न्यूनत्तम ६ घण्टा बस्नुपर्ने फर्निचर उमेर सुहाउँदो र आरामदायी भएन भने विद्यार्थीको सिकाइमा असर पर्छ । सिकाई वातावरण भौतिक रुपमा मात्र नभई भावनात्मक र मनोवैज्ञानिक रुपले पनि खतरामुक्त हुनुपर्छ । जुन वातावरणमा विद्यार्थीले स्वतन्त्र रुपमा जोखिम बहन गर्न सक्दैन । मनमा लागेका कुरा व्यक्त गर्न सक्दैन । अनि दिमागमा उठेका प्रश्नहरु सोध्न सक्दैन, उसको सिकाईमा असर पार्छ ।
शिक्षकले कक्षाकोठाको वातावरण यस्तो बनाउनुपर्छ, जहाँ विद्यार्थीले जस्तोसुकै उत्तर दिए पनि उसको उपहास नहोस् । विद्यार्थीको कमी कमजोरीलाई लक्ष्य गरेर शिक्षकले र अरुहरुले पनि उसलाई कहिल्यै व्यंग्य गर्नुहुँदैन । सुरक्षित विद्यालय परिसर र कक्षाकोठा, शिक्षकको नियमितता र अर्थपूर्ण पर्यवेक्षण, बदमासी र उत्पीडनमा शुन्य सहनशीलता, उमेर अनुकुलका शैषिक सामग्रीको प्रयोग, फर्निचर शौचालय, खेलमैदान, कक्षाकोठाको नियम र नियमलाई अनुपालना गराउने तार्किक, कार्यनीति, विद्यार्थीलाई सोच्न समय दिने र उसले जवाफ नदिउन्जेल पर्खने आदिले विद्यालयलाई एउटा सुरक्षित सिकाई थलोको रुपमा विकास गर्छ । विद्यालय र कक्षाकोठालाई सिकाई सुरक्षित स्थल बनाउन सके मात्र विद्यार्थीले सिक्न र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्छन् ।
विद्यालय र कक्षाकोठाको वातावरण यस्तो हुनुपर्छ, जहाँ विद्यार्थीले अपनत्व महसुस गर्न सकुँन । हरेक विद्यार्थीले आफ्नो उपस्थितिको महत्व बुझ्ने होस् । कक्षाकोठाको वातावरण उसले एक्लोपना महसुस गर्ने खालको भयो भने विद्यालयप्रति उसको लगाव हुँदैन, ऊ कक्षा छाड्ने र असफलता हासिल गर्नेतर्फ बढ्छ । यस्तो वातावरण हुन नदिन र सामूहिक भावना जोगाउन कक्षाकोठामा आवश्यक सम्झौताको प्रारप तयार पारी प्रयोगमा ल्याउनै पर्छ । विद्यार्थी वातावरणबीच अन्तक्र्रिया गराउनुपर्छ । दोहोरो वा बहु अन्तक्र्रियाबाट सिकाई बलियो, दिगो र भरपर्दाे हुन्छ ।
स्कूलमा नियमित सिकाई बैठक र बिहानी बैठक बस्ने नियम बनाउनुपर्छ । अरुको विचार र भावनाको सम्मान गर्ने, अरुलाई मदत गर्ने, सहपाठी, सहयात्रीसँग समूहमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । सिकाईमा सहकार्यले विद्यार्थीको जीवनको तयारीमा सघाउने हुनाले सहकार्य गर्न मिल्ने परियोजना कार्यहरु प्रशस्त मात्रामा गर्नुपर्छ । विद्यार्थीमा आत्म सम्मानको भाव विकास गराउन उनीहरुसँग आदरपूर्वक कुराहरु गर्ने, उनीहरुको भनेको कुरामा ध्यान दिने, उनीहरुको उपलब्धी पहिचान गर्ने, प्रयासलाई सम्मान गर्ने, राम्रा कामलाई महत्व दिने र उनीहरुको सफलतालाई स्वीकार गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
विद्यार्थीमा जे क्षमता अन्तरनिहित छ त्यो क्षमता विकास गराउन विद्यार्थीलाई चुनौती र मौका प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्छ । कक्षा र विद्यालयमा रचनात्मकता, महत्वपूर्ण सोचको विकास र समस्या सुल्झाउने गतिविधिहरु गर्न पाउने वातावरणले मात्र विद्यार्थीको पूर्ण सिकाईको सुनिश्चितता गराउँदछ ।
सिकाई र सिकाई संरचना
बदलिँदो समय, प्रविधि र सामाजिक परिवेशलाई ध्यानमा राखेर नयाँ योजनाको निर्माण गर्दा विद्यालयको लागि कस्ता भौतिक तथा अस्थायी संरचना आवश्यक पर्छ भनी निकै सोच विचार गर्नुपर्ने देखिन्छ । विद्यालय र कक्षाकोठाहरु बनाउने नाममा बनाएर मात्र हुँदैन । ती एक्काइसौं शताब्दीको विद्यालयको आवश्यकता पूरा गर्ने खालको हुनुपर्छ । यस्ता संरचना बारम्बार निर्माण गर्ने चिज होइनन् । एक पटक निर्माण गरिसकेपछि कम्तीमा ५० वर्ष अर्काे भौतिक संरचना बनाउन सम्भव हुँदैन । जबसम्म हाम्रा विद्यालयका भौतिक संरचनाहरु सिकाई अनुकुल, विद्यार्थी अनुकुल र सिकाईमा उत्साह पैदा गर्न हुँदैनन्, तबसम्म हामीले बनाएका शिक्षा सम्बन्धी नीति, रणनीति ऐन, नियम र कानूनले कहिल्यै परिवर्तन ल्याउन सक्दैनन् ।
हाम्रा अधिकांश विद्यालय भवनहरु कारखानाको दृष्टिकोणबाट निर्माण गरिएका छन् । विद्यार्थीहरु एउटै उमेरमा विद्यालय प्रवेश गर्ने, उनीहरुलाई उमेरमा आधारित एउटै कक्षामा राख्ने, स्तरीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यवस्तुमा बाँध्ने, निश्चित समयमा मूल्यांकन गर्ने, विद्यार्थीले पनि समदरमा उनीहरुका सहपाठी जतिके भौतिक संरचनाले माथिको अवधारणाको लागि त काम गर्ला तर २१औं शताब्दीको लागि आवश्यक सीप तथा कौशल सिकाउने ठाउँ भने अवश्य बन्न सक्दैन ।
विद्यालयका भौतिक संरचना अब लचिला, रंगिन र धेरै भन्दा धेरै विद्यार्थीलाई संलग्न गराउन सक्ने किसिमका हुनैपर्छ । अब पनि विद्यार्थीलाई कक्षाकोठामा पंक्तिमा राखिएका डेस्क र बेन्च अनि कक्षाकोठाको भुईमा सार्न नमिल्ने गरी नट बोल्ट गरिएका फर्निचरमा राखेर ज्ञान निर्माण, सीप तथा कौशल सिकाई र अवधारणा बुझाइमा संलग्न गराइन्छ भने हामीले विद्यार्थीको जीवनको तयारी होइन, बर्बादीको खाडल खनिरहेका छौं भन्ने बुझ्नुपर्छ ।
यस्ता कुराहरु कतिपय झिनामसिना पनि लाग्लान् तर बिडम्बना साथ भन्नुपर्छ । हाम्रा विद्यालय शिक्षाको समस्या यसैमा अल्झिरहेको छ । जबसम्म हाम्रो विद्यालय शिक्षालाई यसबाट बाहिर निकालन सकिँदैन, तबसम्म परिवर्तन ल्याउन सकिँदैन ।

सुमन तिमल्सिना

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

गुणस्तरीय सिकाई

सुमन तिमल्सिना   सबैलाई थाहा भएकै कुरा हो, हामीकहाँ सार्वजनिक र नीजि गरी दुई किसिमका ...

Translate »