– सुमन तिमल्सिना
चैतमा हुने अन्तिम परीक्षा तयारीको असारे चटारो छ यतिखेर । विद्यार्थीहरु ट्युसन पढिरहेका छन् । गणित, विज्ञान र अंग्रेजीका शिक्षकहरु भालेको डाँकोदेखि झ्याउकिरी बास बस्ने बेलासम्म ट्युसन र कोचिङ पढाएका पढायै छन् । अभिभावकहरु बिहानदेखि बेलुकासम्मै छोराछोरीलाई पढाइमा लगाउँदै छन् । स्कूलले संस्थागत रुपमै कोचिङ नाम दिएर अतिरिक्त कक्षाहरु चलाइरहेका छन् । सबैको ध्याउन्न छ, राम्रो गर्ने, कमजोरहरु तन्किने, मध्यमहरु राम्रो बन्ने, राम्राहरु उत्कृष्ट बन्ने, स्कूलको शैक्षिक मुहार थप उज्यालो पार्ने । स्कूल आसपासका होटल पसलहरु बिहानैदेखि गुल्जार हुन थालेका छन् ।
नजिक, टाढा
पहाडका कतिपय सरकारी विद्यालयहरुमा दुई घण्टासम्मको बाटो छिचोलेर पढ्न आउँछन् विद्यार्थी । थाकेर स्कूल पुग्छन् एकाबिहान घरमा खाएको खाना स्कूल पुग्नुभन्दा पहिल्यै पचिसकेको हुन्छ । स्कूल पुग्दा नपुग्दै भोकाउन थाल्छन् । सबै अभिभावकम आफ्ना छोराछोरीलाई दिनदिनै टन्न खान पुग्ने खर्च हाल्ने हैसियत हुँदैन । नियमित कक्षा लिन त हम्मे पर्ने यस्ता विद्यार्थीले चाहेर पनि ट्युसन, कोचिङमा सहभागी हुन सक्दैनन् । थाकेर स्कूल पुग्छन्, लखतरान भएर घर पुग्छन्, गृहकार्य गर्न सक्दैनन् । लुगा, जुत्ता फाट्ने कुरा त सामान्य । कति त घरबाट स्कूल कुद्छन्, स्कूल नपुगी बाटो मोड्छन्, अन्तै दिन बिताउँछन् ।
टाढाका कतिपय विद्यार्थी परीक्षाभन्दा दुई तीन महिना अघिदेखि ट्युसन, कोचिङ पढ्न भनेर स्कूल आसपासमा कोही आफन्तकोमा त कोही डेरा लिएर बस्छन् । सबैका आफन्त हुँदैनन्, त्यस्तो सहज स्थानमा । फेरि आफन्त पनि सबै सजिला हुँदैनन् । डेरामा बस्दाको कुरा त झन् जटिल बनिदिन्छ । कलिलै उमेरमा घर छाडेर परदेश बस्नुपर्दा अनुभवको कमीले गर्दा समय, खानपान र पढाईलाई राम्ररी व्यवस्थापन गर्न सक्दैनन् । घरमा अभिभावकबाट हुने रेखदेखबाट मुक्त हुँदाको अवस्थाले गर्दा बढी स्वतन्त्रता अनुभव गर्छन् । त्यस्तो स्वतन्त्रता विस्तारै स्वच्छन्दतामा परिणत हुन्छ । पढाईभन्दा घुमघाम र खेलकुदमा बढी समय खर्चिन्छन् । भर्खर किशोर अवस्थामा प्रवेश गरेका केटाकेटीहरु विभिन्न कुलतमा फस्ने सम्भावना बढ्छ । यहिबेला उनीहरु उमेरजन्य तनावमा पनि हुन्छन् । तनावग्रस्त मनस्थितिले सिकाईमा बाधा पर्छ । परिणामतः कक्षामा होस् वा परीक्षामा, स्कूलभन्दा टाढाका विद्यार्थीले राम्रो प्रस्तुती गर्न सक्दैनन् ।
माध्यमिक विद्यालय भएका स्थान वरपर सामान्यतयाः सानोतिनो बजार नै हुन्छ । स्कूल नजिकका विद्यार्थी बजारिया कहलिन्छन् । यस्ता बजार “न शहर न गाउँ” को अवस्थामा हुन्छन्, भौतिक अवस्था गाउँको हुन्छ, फुर्तिफार्ति शहरको जस्तो हुन्छ । बजार क्षेत्रका केटाकेटीले गाउँको जस्तो खेती किसानीको धपेडीमा पर्नु पर्दैन । स्कूल जाँदा हस्याङफस्याङ पनि गर्नुपर्दैन । पढाई लेखाइको लागि पर्याप्त समय पाउँछन् । अभिभावक पनि सचेत भए त्यस्ता विद्यार्थीले राम्रो गर्न सक्छन्, गर्ने तिनैले हो ।
एकाध अपवाद बाहेक टाढाका धेरैजसो विद्यार्थी शैक्षिक रुपमा कमजोर नै हुन्छन् । त्यसो त नजिकका सबै उत्कृष्ट हुन्छन् भन्ने पनि छैन । नजिकका पनि थुप्रै विद्यार्थी कमजोर नै हुन्छन् । टाढाकाहरुले समय नपाएर कमजोर बस्छन् । नजिककाहरु समय धेरै भएर कमजोर बन्छन् । तर हरेक स्कूलका जति पनि उत्कृष्ट विद्यार्थी हुन्छन् प्रायः नजिकै हुन्छन् । हाम्रो स्कूलमा मा.वि. तहका हरेक कक्षाका उत्कृष्ट दश स्थानमा पर्ने विद्यार्थीहरु आधा घण्टाभन्दा बढी हिँड्नु नपर्ने दूरीका छन् ।
टाढाका विद्यार्थीले समयमा खान पनि पाउँदैनन् । नजिककाहरुले प्रायः घरमै खाना खाजा खान सक्छन् । टाढाकाले चास्सचुस्स चाउचाउ, थुक्पा, विस्कुट खाने हो । पैसा हात परेको बेला शरीरको लागि हानिकारक रसायनयुक्त तयारी खाना भोकको तोडमा भुक्याउँछन् । एकातिर समयमा खान पाउनु छैन । अर्काेतिर सधैं मुखलाई मात्रै सन्चो पनि प्लाष्टिक पोकाको खाना यसले गर्दा स्कूले जीवनबाटै रोगले हुन थाल्छ । विद्यार्थीहरु बिरामी पर्छन् । अधिकांशको एउटै खाले समस्या हुन्छ, पेट पोल्ने, वाकवाकी लाग्ने, कसैकसैले वान्ता गर्ने, बिहानी प्रार्थनामा एकाएक ढल्ने । माघ–फागुनतिर यो क्रम बढ्छ । यसको कारण ट्युसन कोचिङ कक्षाको धपेडी र त्यसले गर्दा खानाको झन् बेटुंगो हुनु नै हो ।
कुरा गुणस्तरमै
कुराहरु जताबाट पनि शैक्षिक गुणस्तरमै पुग्छन् । सरकारी स्कूलको गुणस्तर खस्कियो भन्ने नै निष्कर्ष आउँछ । मास्टरलाई गाली गर्ने नै कार्यक्रम बन्छ । स्कूलमै पुगेर, पालिका, सदरमुकाम बोलाएर दिनभरिमा जम्मा एक कप कालो चिया खुवाएर थुक उछिट्याउँदै गाली गरिन्छ ।
सरकारी स्कूलको गुणस्तर एकाएक खस्केको हो त ? नेपालको शिक्षाको गुणस्तर कहिल्यै पनि उत्कृष्ट थिएन, व्यवहारिक त झन् हुँदै थिएन, खाली घोकन्ते, शिक्षकहरु अपहेलित नै थिए । चन्दा र विद्यार्थीको शुल्कबाट जति हुन्छ, त्यही बाँडीचुडी तलब खाने अवस्था थियो । सरकार स्कूल खोल्ने अनुमति दिने तर व्यवस्थापन समुदायलाई दिने काम मात्रै ग¥यो । शासकहरु देशको शिक्षाको गुणस्तर सुधार गर्नेतिर भन्दा आफ्ना छोराछोरी पढाउन दार्जिलिङ, देहरादुन, नैनीताल, भाक्सु जस्ता भारतीय शहरतिर लैजानमा ध्यान दिन्थ्ये । १९१० सालमा जंगबहादुरले आफ्ना छोरा पठाउन दरबार स्कूल खोलेकै शैलीमा सन् १९७२ मा बुढानिलकण्ठ स्कूल खोलियो । यसमा जिल्लासम्मका केही पहुँचवालाले पनि गरिबको कोटामा आफ्ना छोराछोरी पढाउन पाए । अरुले बुढानिलकण्ठ स्कूल छ भन्नेसम्म चाँडै पाएनन् । पहिला कति विद्यार्थी एसएलसी वा क्याम्पसमा पास हुन्थ्ये भन्नेले नै जनाउँछ, शैक्षिक गुणस्तरको इतिहास । हरेक पुराना स्कूलहरुको पुराना रेकर्डहरु हेरे थाहा हुन्छ । पञ्चायतकालमा होस् वा बहुदल आएपछि केही समयसम्म हरेक वर्ष देशभरि सयौं मा.वि.हरुले एसएलसीमा निल ल्याउँथे । विद्यार्थी पास हुँदा पनि निल फुटाउँथे मात्रै । आक्कलझुक्कल कसैले प्रथम श्रेणी अति दुर्लभ थियो । प्रथम श्रेणी ल्याइहाले, स्कूलले उसको भव्य सम्मान गथ्र्याे । वारिपारि चर्चा हुन्थ्यो, हेडसरको कोठामा फोटो टाँसिन्थ्यो ।
त्यस समयमा गुणस्तरको चर्चा हुँदैनथ्यो । यसका तीन कारण थिए । एक शासकहरुलाई गुणस्तरको मतलब थिएन । उनीहरु आफ्ना छोराछोरीलाई पढाउन भारत लैजान्थे । पछिल्लो कालमा शासक र हुनेखानेका लागि खास खास स्कूलहरु बने । दुई स्कूल दुर्लभ स्तरीय शिक्षाको कुरै आएको थिएन । शिक्षाको पहुँच विस्तारको मात्रै कुरा हुन्थ्यो । तीन सरकारी स्कूलसँग तुलना गर्नलाई निजी स्कूल थिएनन् ।
अहिले गुणस्तरका अनेक सूचक आए । अनुसन्धानका अनेकखाले निष्कर्ष, सुझावहरु भटाभट आउन थाले । नीति निर्माताहरु स्वयं व्यापारीहरुको लहरमा निजी स्कूल अनुकुल बने । शिक्षा नाफामुखी भयो । सरकारी स्कूलको गुणस्तर खस्कियो भनेर कोहोलो हुन थाल्यो र भइरहेको छ ।
घरैबाट स्कूलको बस चढेर सरर स्कूल जाने अनि १२ महिना ट्युसन पढ्ने शहरिया निजी स्कूलका विद्यार्थी र दैनिक चार घण्टा हिँडेर घर–स्कूल–घर गर्ने विद्यार्थी बिच तुलना गरिन्छ । वास्तविकतालाई निती निर्माताले देख्दै देख्दैनन्, देख्नेल पनि नदेखेको अभिनय गर्छन् र गर्दैछन् यो समाजमा ।