काठमाडाैं । काभ्रेको पनाैतीमा सोमबार साँझ टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । टिपरले ठक्कर दिँदा २७ वर्षीय जुनिमायाँ गोले र उनकी ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको हो ।
स्थानीय कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापक रहेकी जुनिमायाँले परिक्षाको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको बताइएको छ ।
सोमबार बेलुकी बा ५ ख ५४८० नम्बरको टिपरले पनाैती बसपार्क क्षेत्रमा ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनाैतीमा प्रदर्शन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र ६ राउन्ड हवाई फायर समेत गरेका छन् भने झडपले गर्दा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
रोशी गाउँपालिका-६ का टिप्परका चालक नवराज थापा प्रहरी नियन्त्रणमा छन् ।