काठमाडाैं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप चीनमा सकिएको देखेपनि यसले युरोपेली राष्ट्रहरुमा दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिले सबैभन्दा बढी कोरोनाका कारण मृत्यु हुने राष्ट्रमा इटली रहेको छ जहाँ ७ हजार ५०३ जनाको मृत्यु भइसकेको छ भने ७४ हजार ३८६ जनामा संक्रमण रहेको छ ।
यसले सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकालाई पनि धेरै प्रभाव गरेको छ । अमेरिकामा अहिले सम्म १ हजार ३६ जनाको मृत्यु भइसकेको छ भने ६८ हजार ५ सय ७३ जनामा संक्रमण देखिएको छ । यति हुदाँ सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका लक डाउन गर्न तयार छैनन् । अमेरिकी राष्ट्रपतिको यो निर्णयका कारण डब्लुएचओले उनलाई अमेरिकाको सबैभन्दा प्रभावित ‘न्यु योर्क’ सहर इटली बन्ने चेतावनी दिएका थिए ।
तर अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई कोरोना भाइरसको सकंटमा धेरै चीनको पक्ष लिएको आरोप लगाएका छन् । उनले बुधबार ह्वाइट हाउसको न्यूज कन्फरेन्समा पत्रकारहरुलाई डब्लुएचओले धेरै चीनको पक्ष लिएको र तसर्थ धेरै मानिसहरु खुशी नभएका बताए । ट्रम्पले यसअघि पनि चीनलाई कोरोना भाइरसको फैलाएको आरोप लगाएका थिए र बारम्बार कोरोना भाइरसलाई चिनिँया भाइरस भनेका थिए ।