
काठमाडाैं । कोरोना भाइरसको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडाैं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो। यस्तै जेठ १५ गते उनको स्वाबको परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार उनको निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २३ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २३ सय पुगेको जानकारी दिएका हुन्।